१५ मंसिर, काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू हुने बताएका छन् ।
नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको बुधबार उद्घाटन अर्थमन्त्री शर्माले विभिन्न देशबाट अबैध रुपमा आयात हुने मोबाइल फोनलाई रोक्न सरकारले तत्काल एमडीएमएस प्रणाली लागू गर्ने बताए ।
अर्थमन्त्री शर्माले एमडीएमएस प्रणाली लागू भएपछि विभिन्न देशबाट अबैध रुपमा नेपालमा आयात हुने मोवाइल फोन बन्द हुने बताए । उनले अबैध रुपमा हुने पैठारी रोक्नुपर्ने दायित्व सरकारका भएको बताए । सरकार आफ्नो दायित्वबाट पछि नहट्ने बताए ।
विदेशमा दुःख गर्नेलाई एउटा फोन पनि ल्याउन नदिनु अन्याय हुन्छ
उनले भने ,‘अबैध रुपमा आयात हुने मोबाइल फोन रोक्ने एमडिएमएसबारे वितरक संघ मार्फत हिजो मात्रै थाहा पाएँ ।
यो विषयमा थाहा पाउने वितिकै तत्काल लागू गर्न निर्देशन दिइसकेको छु । तर, विदेशबाट बैधानिक रुपमा मानिसले ल्याइरहेको मोबाइल फोन रोक्न कठिन छ । नेपालको अर्थतन्त्र रेमिट्यान्स मार्फत चलाइरहेको छ ।
नेपालबाट विदेशी भूमिमा ५० डिग्रीको तापक्रममा काम गरेर राज्यलाई रेमिट्यान्स पठाउने गर्दछन्। यसरी विदेशमा दुःख गरेर नेपाल फर्किनेहरुलाई एउटा फोन पनि राज्यले ल्याउन नदिनु उनीहरु माथि अन्याय हुन्छ ।
एउटा ल्याउन दिएमा एउटाबाट अर्को एयटा हुदै धेरै हुने समस्या उत्पन्न भएको छ । यसरी अहिले ३० प्रतिशतसम्म मोवाइल फोन अबैध रुपमा आयात हुने गरेको छ । यसलाई थप व्यवस्थित गर्न सरकार प्रतिबद्ध छ ।’
अर्थमन्त्री शर्माले आफू अर्थमन्त्रीको रुपमा मन्त्रालयमा आएसँगै अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन जोड दिएको बताए । उत्पादनमुखी अर्थतन्त्रले मात्रै राष्ट्र सबल बन्नसक्ने बताउनुभयो । अब मोवाइल पनि नेपालमा नै उत्पादन गर्न व्यवसायीलाई आग्रह गरे ।
नेपालमा मोबाइल उत्पादन गरे सुविधा दिन सरकार तयार
उनले नेपालमा मोबाइल फोन उत्पादन गर्न राज्यले कर छुट देखि अन्य धेरै सुविधा दिन तयार रहेको बताए ।
अर्थमन्त्री शर्माले भने,‘मोबाइल व्यवसायीले पनि उत्पादनमुखी अर्थतन्त्रमा जोड दिनुपर्छ । नेपाली ब्राण्डको मोबाइल फोन उत्पादन गर्ने व्यवसायी तयार हुनुपर्छ । अब व्यवसायीले आयात पनि गरेर पनि बेच्ने र उत्पादनमा पनि लगानीको सुरुवात गर्नु पर्छ ।
बैंक तथा वित्तीय संस्थाले पनि आयातमात्रै नभएर उत्पादनका उद्योगमा पनि लगानी गर्ने आवश्यक छ । त्यसको लागि नेपाल उद्योग वाणिज्य महासंघले पनि पहल गर्नुपर्छ । सबै व्यवसायी क्षेत्र उत्पादनको क्षेत्रमा लाग्दा त्यहीबाट अर्थतन्त्र सुधार हुनसक्छ ।’
अर्थमन्त्री शर्माले मोबाइलमा फोनको लागि मात्र नभएर विभिन्न सुविधा रहेको भन्दै त्यसलाई चलाउनको लागि क्षमता वृद्धि गर्नुपर्ने पनि बताए । मन्त्री शर्माले मोबाइल आवश्यकताको वस्तु भइसकेकाले यसलाई सरकारले कुनै विसिमको हस्तक्षेप गर्न सक्ने अवस्था नभएको बताए ।
उनले मोबाइल फोन बिलासिताको बस्तु भए सरकारले कडाइ गर्दैन व्यवसायी ढुक्क हुुन आग्रह गरे । त्यस्तै,अर्थमन्त्री शर्माले आजको विश्व डिजिटल बनिसकेकाले नेपाललाई पनि सरकारले डिजिटल नेपाल बनाउने अभियानमा रहेको बताए ।
मोबाइल उत्पादनमा लगानी गर्न नबिल बैंक तयार
कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले मोबाइल फोन विलासिता नभएको बताउँदै यसमा लगानी गर्न बैंकिङ क्षेत्र तयार भएको बताए ।
उनले व्यवसायी क्षेत्र मुलुुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले बैंक तथा वित्तीय क्षेत्रसँग सँगै सहकार्य र लगानी गर्ने तयार रहेको बताए ।
नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशन बुधबार देखि काठमाडौंमा सुरुभएको छ ।