काठ तस्करी नियन्त्रणमा असफल बन्दै सम्बन्धित निकाय

काठ तस्करी नियन्त्रणमा असफल बन्दै सम्बन्धित निकाय

काठमाडौं: साँझ पर्ने बेलादेखि अबेर राति र बिहान घाम नचर्किंदासम्म रौतहटको वनबाट साइकलमा काठ र दाउरा ओसार्नेको लर्को देखिन्छ। कतिपयले त मोटरसाइकलमा पनि काठ र दाउरा ओसारिरहेका देखिन्छन्।

चार–पाँच फिटसम्म लामो, आलोकाँचो र मोटो–पातलो सबै किसिमको काममा प्रयोगमा ल्याउन सकिने काठ तथा दाउराको ओसारपसार निरन्तर भइरहँदा सम्बन्धित निकाय मौन बसेको छ। गस्तीको नाउँमा एक दुई पटक सवारी साधनमा हिँडेको जस्तो गर्ने तर तस्करहरुले दाउरा र दाउराको नाउँमा काठ नै ओसारिरहँदा रोक्ने छेक्ने तथा सोधखोज गर्ने कोही पनि नदेखिँदा काठको तस्करी नियन्त्रणभन्दा बाहिर गएको देखिएको हो।

जंगल क्षेत्रका अधिकांश गाउँको यही अवस्था रहेको छ। अबेर साँझ र बिहान पनि जंगलबाट बाहिर निस्कने करिब सबै बाटोमा काठ र दाउरा ओसार्नेको निर्वाध लस्करले सम्बन्धित निकायको असफलतालाई दर्शाइरहेको हुन्छ।

केही हप्ता पहिले कटहरिया नगरपालिका १ मा तीन ओटा साइकलमा चार थान सालको गोलिया प्रहरीले बरामद गरेको थियो। कटहरियाको कुनै पनि वडा रौतहटको वनसित जोडिएको छैन। कटहरियासम्म वनको काठ आइपुग्दा सम्बन्धित निकायले भेउसम्म नपाउनु आफैँमा आश्चर्य रहेको छ। गस्तीमा रहेको प्रहरीलाई देखेपछि साइकलका काठ तस्करहरु फरार भएका थिए।

कटहरियामा काठ बरामद भएको समय नै सब डिभिजन वन कार्यालय जंगलसैयाले पाँच वटा साइकलमा तीन थान काँचो सालको गोलिया बरामद गरेको थियो। जंगलमा पसेर रुख काटेर तस्करहरुको समूह साइकलमा लोड गरी काठ लैजान लागेको अवस्थामा बरामद हुँदा वन कार्यालयले साइकल र काठ समातेको बतायो तर तस्कर फरार भयो।

काठ र साइकल जहिले पनि बरामद हुने तर तस्कर सधैँ फरार हुने गरेको अवस्थाले पनि तस्करीमा कुनै कमी आउन नसकेको स्थानीयको भनाइ छ। तजबिजमा काठ तस्कर भगाउने काम भइरहेको नाम नबताउने शर्तमा जंगलसैयाका एक युवक आरोप लगाउँछन्। उनी भन्छन्, ‘सबै कुरा सेटिङमा हुन्छ।’, यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.