राप्रपा अध्यक्षमा विजयी राजेन्द्र लिङ्देन को हुन् ?

राप्रपा अध्यक्षमा विजयी राजेन्द्र लिङ्देन को हुन् ?

१९ मंसिर, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देन पार्टीको स्थापनाकालदेखिकै सदस्य हुन्। विसं २०२२ भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका उनले २०३६ देखि राजनीति सुरुआत गरेका हुन्।

उनले राजनीतिसँगै पढाइलाई निरन्तरता दिँदै राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी विसं २०४८ मा राप्रपाको विद्यार्थी सङ्गठन बन्दा संस्थापक केन्द्रीय अध्यक्ष बनेका थिए । जनताका बीचमा रमाउन चाहने यी विकासप्रेमी नेता स्थानीय निकायको निर्वाचनमा तत्कालीन गोलधाप गाविस–३ बाट दुईपटकसम्म वडाध्यक्ष पनि बनेका हुन् । राजनीतिमा अनेकौँ दुःख र कष्ट भोग्नुभएका उनी विसं २०६०÷६१ मा तत्कालीन जिविस झापाको सभापतिसमेत बनेका थिए ।

उनी विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गर्दै झापा क्षेत्र नं ३ बाट सांसद निर्वाचित भएका हुन् । नवनिर्वाचित अध्यक्ष लिङ्देनले सिटौलालाई १३ हजार ४४३ मतान्तरले पराजित गरेका थिए । देशप्रेमी, विकासप्रेमी, भ्रष्टाचारविरोधी नेता अध्यक्ष लिङ्देन युवापुस्तामा प्रिय छन् । उनको प्रभावकै कारण स्थानीय तहका निर्वाचनमा जिल्लाका तीन तह गौरीगञ्ज, हल्दिबारी र केचनकवल गाउँपालिकामा राप्रपाले अध्यक्ष जितेको थियो ।

पार्टीको केन्द्रीय जिम्मेवारीमा रहँदा पनि उहाँले अधिकांश समय आफ्नो निर्वाचन क्षेत्रका जनतासँगै बिताए। पार्टीको केन्द्रीय सदस्य, महामन्त्री, सङ्गठन विभाग प्रमुखलगायत जिम्मेवारी सम्हालिसकेका उनले एकता महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै केन्द्रीय अध्यक्षमा निर्वाचित भएका हुन । रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.