१९ मंसिर, काठमाडौँ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजेन्द्र लिङ्देनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। उक्त कार्यसमितिको उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की निर्वाचित भएका छन् ।
महामन्त्रीमा धवलशम्शेर राणा, भुवन पाठक र कुन्तिकुमारी शाही निर्वाचित भएका छन्। पार्टीमा १९९ सदस्यीय कार्यसमितिको व्यवस्था गरिएको भए पनि १४९ पदका लागि निर्वाचन भएको थियो। अब बाँकी रहेका ५० केन्द्रीय सदस्य मनोनित गरिने छन् ।
चार उपाध्यक्ष, तीन महामन्त्री, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष, सात सहमहामन्त्रीलगायत पदाधिकारी नयाँ कार्यसमितिले मनोनित गर्ने छ। नवनिर्वाचित अध्यक्ष लिङ्देनले सबै दल तथा समकालीन राजनीतिमा अब पुस्तान्तरणको खाँचो रहेको उल्लेख गर्दै २०४६ सालको परिवर्तनपछि असफल पुस्ताले नेतृत्व गरेका कारण देशमा रोजगारी सिर्जना हुन नसकेकाले विकास र समृद्धि कायम हुन नसकेको बताए ।
उनले आफ्नो पार्टी कमजोर भएको अहिलेको अवस्थामा अवलम्बन गरेको हिन्दू राष्ट्र, संवैधानिक राजसंस्थालगायतका विषयलाई देशभर अभियान चलाएर अगाडि बढाइने र पार्टीलाई विधि तथा प्रक्रियाबाट सञ्चालन गरी गुटको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे। अब हुने राष्ट्रिय चुनावमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा जोड दिइने उनको भनाइ छ । रासस