२० मंसिर, कैलाली ।
कैलालीको लम्की चुहाका भूपेन्द्र बडुवालको हत्या प्रकरणको अनुशन्धान प्रतिवेदन प्रहरीले सार्वजनिक गरेको छ । बडुवालको हत्या घटनामा २१ जना संलग्न रहेको प्रहरीले निश्कर्ष निकालेको छ । गएको कात्तिक २३ गते टीकापुरमा भूपेन्द्रको हत्या भएको थियो । हत्यापछि विभिन्न शंका उपशंकाका बीच अनुशन्धान सुरु गरेको कैलाली प्रहरीले दुई समूहको रिसइबीका कारण उनको हत्या भएको निष्कर्ष निकालेको छ ।
सोमबार घटनाको अनुसन्धान रिपोर्ट सार्वजनिक गर्दै कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले नदीजन्य पदार्थ र बन पैदावारको ठेक्कापट्टामा लागेका समूहको रिसइबीका कारण बडुवालको हत्या भएको देखिएको बताए । प्रहरी अनुसन्धानमा केही वर्षदेखि लम्की, चिसापानी, टीकापुर क्षेत्रमा नदीजन्य पदार्थ तथा वन पैदावारको ठेक्कापट्टामा आपराधिक गिरोह सक्रिय रहेको र तिनीहरूको विवादकै कारण भूपेन्द्रले ज्यान गुमाउनु परेको देखिएको एसपी अधिकारीले बताए ।
प्रहरीले सार्वजनिक गरेको घटना विवरणमा बडुवाल हत्या प्रकरणमा २१ जना अभियुक्त बनाइएको उल्लेख छ । हत्यामा संलग्न १२ जना पक्राउ परेका छन् भने ९ जना अझै फरार रहेको विवरणमा उल्लेख छ । उनीहरुको मोबाइल ट्र्याक अनुसार हत्या गरेको एक दुई दिनपछि धनगढीको जुगेडा पुगेर भारत लागेको प्रहरीले बताएको छ । कैलालीका एसपी विश्व अधिकारीका अनुसार टीकापुर नगरपालिका–१ का अशोक रावलको संरक्षणमा स्थानीय लोकजंग शाहीसमेतले युवाहरुको समूह बनाएर अपराधिक लाभका निमित्त परिचालन गर्दै आएका थिए ।
विशेष गरी लम्की, चिसापानी र टीकापुर क्षेत्रमा नदीजन्य पदार्थ, वन पैदावारको ठेक्कापट्टामा आफ्नो वर्चश्व कायम गर्न युवाको समूह परिचालन गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । रावलको संरक्षण र शाहीलगायतका युवाको परिचालनमा काम गर्दै आएका जयन्द्र शाह र नवीन रावल शुरुमा एउटै समूहमा आवद्ध थिए तर पछि आपसी मनमुटाव र वैमनश्यका कारण उनीहरु दुई समूहमा विभाजित भए । पछिल्लो समय दुवै समूहका युवाहरु बीच पटक–पटक झै–झगडा हुन थाल्यो । सो झैझगडा दोहोरिदा भूपेन्द्रको हत्या भएको छ ।
एसपी अधिकारीले पत्रकार सम्मेलनमा बोल्दै फरार रहेका प्रतिवादीको खोजी भइरहेको र उनीहरुलाई उन्मुक्ति नदिइने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रतिवादीमध्येका मुख्य अभियुक्त भनिएका नवीन रावलसहितका १५ जनालाई कैलाली प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा १७७(२) बमोजिम जन्म कैद र सोही संहिताको दफा ४१ बमोजिम कैद सजाय र दफा १७७(१) बमोजिमको कसुर लगाउन माग गरेको छ ।