२० मंसिर, जनकपुर ।
जानकी मन्दिरबाट महन्थ रामतपेश्वर दास वैष्ण, उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णको अगुवाइमा भगवानको तिलक गर्नका लागि बाजा गाँजासहित १ सय भार कोसेली लिएर राम मन्दिरमा पुगेर भगवान् श्रीरामको प्रतिकात्मक तिलक गर्ने कार्य सम्पन्न भएको छ ।
जनकपुरधामको नगर परिक्रम गर्दै साधुसन्तहरुको टोली बाजा गाजा सहित सहित १ सय भार लिएर राम मन्दिरमा पुग्दा राम मन्दिरका महन्थ राम गिरी, गुठी संस्थान जनकपुरधामका कार्यालय प्रमुख, महावीर युवा कमिटी, श्रीराम युवा कमिटीका पदाधिकारी तथा स्थानीयले स्वागत गरेका थिए । बेहुली पक्षबाट जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला सहितका प्रशासनिक निकायका पदाधिकारी, राजनीतिक दलका व्यक्तिहरू सहभागी भएका थिए ।
कार्यक्रममा महिलाहरूले मैथिली गीतका साथै विभिन्न प्रकारको हास परिहासहरू गरेका छन् । सप्ताहव्यापी विवाह पञ्चमी अन्तर्गत भोलि मटको, पर्सी २२ गते स्वयंम्बर तथा शुभ विवाह तथा २३ गते रामकलेवा रहेको छ । यस अघि नगर दर्शन, फूलबारी लीला तथा धनुष यज्ञ सम्पन्न भइसकेको छ ।