राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना कहिल्यै सफल हुन दिँदैनाैँ: कमल थापा

राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना कहिल्यै सफल हुन दिँदैनाैँ: कमल थापा

२१ मंसिर, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा ज्ञानेन्द्रले हस्तक्षेप गरेको दोहोर्‍याएका छन् । थापाले मंगलबार एक विज्ञप्ति जारी गर्दै यसको सबै प्रमाण आफूसँग सुरक्षित रहेको  दाबी पनि छ ।

उनले निर्मलनिवासको अवाञ्छित र अमर्यादित हस्तक्षेपले राजसंस्थासम्बन्धी आफ्नो आधारभूत मान्यतामाथि गम्भीर आघात पुगेको बताएका छन् ।

‘अत्यन्त प्रतिकूल अवस्थामा पनि राजसंस्थाको एजेण्डा बोकेर हिंडेको म र राप्रपालाई अहिले परेको पीर यही हो । म नैतिक र धर्मसंकटमा परेको छु,’ विज्ञप्तिमा उनले भनेका छन् ।

थापाले राप्रपालाई भजनमण्डली बनाउने निर्मल निवासको योजना कहिल्यै सफल हुन नदिने बताएका छन् । उनले निर्मल निवासले २०७४ सालदेखि नै राप्रपालाई फुटाउन खोजेको र भजन मण्डली खडा गरेर नेतृत्वको चरित्रहत्या गर्ने काम गरेको आरोप लगाएका छन् ।

‘केन्द्रिय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको भने म घोर भत्सर्ना र निन्दा गर्दछु । फेरि यो पहिलो घटना होइन,’ थापाले भनेका छन्, ‘२०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका बारेमा भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदित छ।’

थापाले राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित सबै पदाधिकारीहरुलाई शुभकामना दिँदै पराजयका बाबजुद पार्टी एकताको पक्षमा निरन्तर सकारात्मक सहयोग रहने बताएका छन् ।

‘अध्यक्ष पदमा पराजयका बाबजुद पार्टी एकताको पक्षमा मेरो निरन्तर सकारात्मक सहयोग रहने छ,’ थापाले भनेका छन् । लिङ्देनले थापालाई पराजित गर्दै राप्रपा अध्यक्ष चुनिएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.