राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रम स्वीकृत, पुस २० गते उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रम स्वीकृत, पुस २० गते उम्मेदवारी दर्ता

२१ मंसिर, काठमाडौँ ।

आउँदो माघ १२ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।

स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनैतिक दलले निर्वाचन प्रयोजनका लागि पुस १ गतेदेखि १० गतेसम्म दर्ता गर्नुपर्ने छ ।

निर्वाचन कार्यक्रम अनुसार पुस १७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने र प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि र नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिन सक्ने गरी कार्यतालिका बनाएको छ ।

प्रकाशित नामावलीमा मतदाताको विरोधमा उजुरी दिन सकिने छ । यसै गरी पुस १८ र १९ गते निवेदन तथा उजुरी उपर छानबिन र कारबाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

पुस २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने, पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।

तोकिएका मतदान केन्द्रहरूमा माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.