हेटौँडामा ४७ करोड ९३ लाखको भ्यूटावर बन्ने

हेटौँडामा ४७ करोड ९३ लाखको भ्यूटावर बन्ने

२२ मंसिर, मकवानपुर ।

बागमती प्रदेश राजधानी हेटौँडामा रु ४७ करोड ९३ लाख लागतमा भ्यूटावरसहितको व्यापारिक भवन निर्माण गर्नेबारे मंगलबार हेटौँडामा सम्झौता भएको छ ।

हेटौँडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा निर्माण हुने सो भवनका लागि उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई तथा बानियाँ निर्माण कम्पनीका प्रबन्धक ऋषिराज बानियाँबीच सम्झौता भएको हो ।

उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको उपस्थितिमा सम्झौता भएको उक्त भवन उपमहानगरपालिकाद्वारा निर्माण गर्न लागिएको हो । १२ तल्ले उक्त भवनको नाम हेटौँडा बहुद्देश्यीय व्यापारिक भवन रहेको छ । भवन तीन वर्षभित्र निर्माण हुने बताइएको छ । हुप्राचौरको दक्षिणतर्फ रहेको वासुदेव सभागृहलाई भत्काएर भ्यूटावरसहितको व्यापारिक भवन निर्माण हुने बताइएको छ ।

उपमहानगरपालिकाका इन्जिनियर सत्यनारायण शाहका अनुसार एक बिघा छ कट्ठा जमिनमा भवन निर्माण गरिने छ । छैटौँ तल्लासम्म व्यापारिक सटर हुनेछ भने छैटौँ तल्लामाथि भ्यूटावर रहने बताइएको छ । सो अवसरमा उपमहानगरपालिका प्रमुख महतले भवन समय अवधिमा पूरा गर्नुपर्ने बताउँदै हेटौँडाको गरिमालाई अगाडि बढाउन मद्दत मिल्ने विश्वास व्यक्त गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.