राष्ट्रिय सभा निर्वाचनः २० पुसमा मनोनयन दर्ता, १२ माघमा निर्वाचन

राष्ट्रिय सभा निर्वाचनः २० पुसमा मनोनयन दर्ता, १२ माघमा निर्वाचन

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त हुन गइरहेको १९ पदमा १२ माघमा निर्वाचन गर्ने गरी निर्वाचन कार्यक्रम तथा कार्यतालिका स्वीकृत गरेको छ ।

आयोगले २० फागुनबाट रिक्त हुने राष्ट्रिय सभातर्फका १९ पदमा १२ माघमा निर्वाचन गर्नेगरी मंगलबार निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको हो । स्वीकृत तालिकाअनुसार २० पुसमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रिय सभातर्फ रिक्त हुन गइरहेको १९ पदमा १२ माघमा निर्वाचन गर्नेगरी कार्यक्रम तय गरिएको जानकारी दिए ।

‘राष्ट्रिय सभातर्फ १९ पद रिक्त हुँदै छ, रिक्त हुनुअघि नै निर्वाचन गर्नेगरी आयोगले निर्वाचन कार्यक्रम र तालिका स्वीकृत गरेको छ । १२ माघमा राष्ट्रिय सभातर्फ रिक्त हुने पदमा निर्वाचन हुन्छ, त्यसका लागि दल दर्ता गर्नुपर्छ । आयोगले निर्वाचन प्रयोजनका लागि सबै कार्यक्रम ल्याएको छ,’ आयोगका प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने ।

आयोगले राष्ट्रिय सभा निर्वाचनमा भाग लिन चाहने दललाई १ पुस देखि १० पुससम्म दल दर्ता गर्न समय निर्धारण गरेको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचन कानुनअनुसार कुनै पनि निर्वाचनअघि निर्वाचन प्रयोजनका लागि दल दर्ता अनिवार्य छ ।

आयोगका प्रवक्ता पौडेलका अनुसार १७ पुसमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेगरी आयोगले निर्वाचन कार्यक्रम बनाएको छ ।

प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्न दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने सक्नेछन् ।

आयोगका अनुसार १८ र १९ पुसमा निवेदन तथा उजुरीउपर छानबिन र कारबाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

यसैगरी, २० पुसमा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २१ पुसमा उम्मेदवारको विरोधमा उजुरी दिने, २२ र २३ पुसमा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम आयोगले तय गरेको छ ।

यसैगरी, २४ पुसमा उम्मेदवारले नाम फिर्ता लिने, २५ पुसमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र तोकिएका मतदान केन्द्रहरूमा १२ माघमा बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने कार्यक्रम छ ।

राष्ट्रिय सभा कानुनअनुसार पद रिक्त हुनु ३५ दिनअघि उपनिर्वाचन गरिसक्नुपर्छ ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.