२२ मंसिर, भक्तपुर ।
राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटी सदस्य राजन श्रेष्ठको कुटपिटबाट हत्या भएको छ ।
मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा श्रेष्ठको हत्या भएको हाे । सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय श्रेष्ठको कुटपिट र धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
गए राति करिब पौने १० बजे गठ्ठाघरमा आफ्नो गाडी पार्किङ घर फर्कने क्रममा श्रेष्ठलाई कुटपिट गरिरहेको स्थानीय मजदुरले देखेपछि प्रहरीलाई खबर गरी प्रहरीकै सहयोगमा श्रेष्ठलाई राति १० बजे उद्धार गरी उपचारका लागि मध्यपुर अस्पताल लैजाँदा अस्पतालले मृत्यु भएको जानकारी गराएको प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।
श्रेष्ठको हत्यामा संलग्न दुईजना पक्राउ परेका छन्। हत्या गर्नेहरु श्रेष्ठकै नजिकका साथी रहेको प्रहरीले बताएको छ। आर्थिक लेनदेनका कारण उनीहरुले आफ्नै साथीको हत्या गरेको खुलेकाे प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको रेग्मीले जानकारी दिए ।