माओवादीले प्रदेश १ अधिवेशनका प्रतिनिधिलाई होटल होइन घरमा राख्ने

माओवादीले प्रदेश १ अधिवेशनका प्रतिनिधिलाई होटल होइन घरमा राख्ने

२३ मंसिर, विराटनगर ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेश १ को प्रथम अधिवेशनलाई नेता प्रधानभन्दा पनि नीति प्रधान बनाउने बताएको छ । विराटनगरमा प्रदेश अधिवेशनबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश १ माओवादी केन्द्रका इन्चार्ज राम कार्कीले यस्तो बताएका हुन् ।

कार्कीले अधिवेशनमा सहभागी हुन आउने प्रदेश १ का झण्डै १ हजार १ सय बढी प्रतिनिधिलाई कार्यकर्ता, समर्थक र आफन्तको घरमा राखिने भएको छ । ‘मोरङको विराटचोकमा हुने अधिवेशनमा आउने प्रतिनिधिलाई होटलमा राखेर मासुभात खुवाउने कार्यक्रम हाम्रो छैन,’ कार्कीले भने, ‘पार्टीले दुई छाक सादा खानाको व्यवस्था गरेको छ, चिया विस्कुट खुवाउँछ र कार्यकर्ता, समर्थक तथा आफन्तको घरमा राख्ने व्यवस्था गरेको छ ।’

नेकपा माओवादी केन्द्रको प्रदेश अधिवेशन यही मंसिरको २५ र २६ गते मोरङको सुन्दरहरैँचास्थित विराटचोकमा हुनेछ । इन्चार्ज कार्कीले अन्य पार्टीले विचार, नीति निर्माणमा भन्दा नेतृत्वमा जोड दिएको दाबी गरे । ‘हामी ठूला ठूला गेट निर्माण गरेर, लाखौंको मञ्च बनाएर, करोडौं खर्च गरेर मानिस भेला पारेर देखावटी अधिवेशन र सम्मेलन गर्दैनौं,’ कार्कीले भने, ‘शरिर भएर मात्रै हुँदैन मुटु कलेजो पनि चाहिन्छ, त्यसकारण हामी विचार निर्माणमा जोड दिने गरी अधिवेशनलाई केन्द्रीत गरेका छौं ।’

अधिवेशनमा धेरै खर्च गर्ने भन्दा पनि विचारको मन्थन गर्ने भएकाले प्रदेश अधिवेशन खर्चिलो नहुने उनले जनाए । नेकपा माओवादी केन्द्रका प्रदेश सचिव हेमराज भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै प्रदेशको अधिवेशन एकै पटक हुने भएकाले संयुक्त रुपमा भर्चुअल माध्यमबाट सम्बोधन गर्ने जानकारी दिए ।

प्रदेश अधिवेशनबाट पार्टीको विधानअनुसार ९ जना पदाधिकारी चयन हुनेछ । जसमा अध्यक्ष १, उपाध्यक्ष महिलासहित ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्षसहितको प्रदेश समिति निर्वाचित हुनेछन् । पार्टी विधानअनुसार अधिवेशनपछिको नेतृत्व पूर्ण समावेशी र अधिकारसम्पन्न बनाउन नेतृत्वमा ३५ प्रतिशत महिला, प्रदेशमा रहेको जनसंख्याको अनुपातमा थप २ प्रतिशत दलित, ५ प्रतिशत मुस्लिम र २० प्रतिशत युवाहरूको सहभागिता सुनिश्चित गरिने नेकपा माओवादी केन्द्रले जनाएको छ । अधिवेशनबाट २५९ सदस्यीय समिति निर्माण हुने जनाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.