२३ मंसिर, इटहरी ।
सुनसरी सदरमुकाम इनरुवामा नेपाल मानवअधिकार वर्षपुस्तक– २०२२ को पूर्व वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार र सामाजिक न्यायको निम्ति कार्यरत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) १ नम्वर प्रदेश कार्यालय विराटनगरको सहयोग, इन्सेक सुनसरीको आयोजना तथा गैरसरकारी संस्था महासंघ मेघराज न्यौपानेको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको प्रमुख आथित्यमा समीक्षा सम्पन्न भएको हो ।
कार्यक्रममा इन्सेक प्रतिनिधि जयकृष्ण यादवले प्रस्तुत गरेको प्रतिवेदन अनुसार जनवरी १ देखि डिसेम्बर ८ सम्मा जिल्लामा दुई वटा हत्या, ८० वटा जवजस्ती करणी, २६ वटा जवजस्ती करणीको प्रयास, ३५ वटा बहुविवाह, एक वटा बोक्सीको आरोप, एसिड आक्रमण एक वटा, मानवबेचविखन ५ वटा, १४ वटा बाल यौन दुरुपयोग र चार जना पत्रकारलाई धम्मी आएको उल्लेख गरिएको छ ।
कार्यक्रममा मानव अधिकार समूहका कोशी सदस्य राजकुमार शर्मा, मानव अधिकार समूह भोक्राहा नरसिंहका निवर्तमान अध्यक्ष शोभा मेहता, सदस्य नुनुलाल साहलाई सम्मान गरिएको छ । तीनै जनालाई कार्यक्रमका प्रमुख अथिति सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कदर पत्र र दोसल्लाले सम्मान गरेका थिए ।