२४ मंसिर, काठमाडाैँ ।
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक परिवर्तनलाई संस्थागत गर्न र देशलाई अग्रगति दिन लोकतान्त्रिक पार्टीहरुका बीचमा एकता हुनु जरुरी रहेको बताएका छन् । शुक्रवार नेपाली कांग्रेसको १४ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक पार्टीहरुले एक्लै हिड्ने अहंकार गर्नु नहुने बताएका हुन् । देशको परिवर्तनलाई संस्थागत गर्न र देशलाई अग्रगति दिनका लागि कांग्रेस, माओवादी लगायतका लोकतान्त्रिक पार्टीहरुका बीचमा गहिरो एकता हुन जरुरी रहेको उनले बताए ।
एक्लै हिड्न खोज्नेको ओरालो यात्रा सुरु भो
उनले हालसम्म प्राप्त गरेका राजनीतिक सफलता एकता र गठबन्धनको परिणामस्वरुप प्राप्त भएको उल्लेख गर्दै एक्लै हिड्ने अहंकार गर्न खोज्दा एक्लै हिड्न खोज्नेको ओरालो यात्रा सुरु हुने बताए । कांग्रेसले लोकतान्त्रिक राजनीतिक दलहरुको बिचमा समझदारी कायम गर्ने, सुशासन र विकासको युगतिर लैजाने सन्दर्भमा उचित नीति निर्धारण गर्नुपर्ने अध्यक्ष प्रचण्डको भनाई छ । उनले भने – ‘यो परिवर्तनलाई संस्थागत गर्ने र देशलाई अग्रगति दिने सन्दर्भमा पनि हाम्रो बिचमा गहिरो एकता हुन जरुरी छ । कहिलेकाहीँ म सुन्छु पार्टी र साथीहरु एक्लै हिड्ने कुरा गर्नुहुन्छ । एक्लै हिड्नुपर्छ हामीहरु भन्नुहुन्छ । होईन, हामी एक्लै हिड्ने कुरा अहंकार कसैले पनि नगरौँ । हामी मिलेरै हिड्ने हो । हामीले राजनीतिक प्रतिस्पर्धा गरेपनि त्यो प्रतिस्पर्धाभित्र पनि हामीले एकता खोजिराख्नै पर्ने हुन्छ । र अहिले हामी जे सफलता भनेका छौँ, एकताबाट, गठबन्धनबाट प्राप्त भएको सफलता हो । ०४६ सालको आन्दोलनको सफलता, शान्ति सम्झौताको सफलता, या ०६२÷०६३ को सफलता सबै लोकतान्त्रिक राजनीतिक दलहरुको बिचमा भएको एकताको परिणाम हो । त्यसकारण एक्लै हिड्ने अहंकार गर्न खोज्दा जसले अहंकार ग¥यो त्यसको ओरालो यात्रा सुरु भयो भन्नेकुरा नेपालको इतिहासले देखाएको छ । त्यसकारण म तपाईहरु सँग यो ऐतिहासिक महाधिवेशनमार्फत् सिंगो राष्ट्रलाई एकतावद्ध गर्ने, मुख्यत्ः लोकतान्त्रिक राजनीतिक दलहरुको बिचमा समझदारी कायम गर्ने र देशलाई सुशासन र विकासको नयाँ युगतिर लैजाने कुरामा देशको ठुलो पार्टीको नाताले पनि नेपाली कांग्रेसले उचित नीति निर्धारण गरोस् । नेतृत्व निर्धारण गरोस् ।’
ध्यक्ष प्रचण्डले पार्टीहरु सरकारमा जाँदा जनताको अगाडी गरेका प्रतिवद्धता अनुसार व्यवहार गर्न नसकेकाले यसको सम्बन्धमा सबैले आत्मसमिक्षा गर्नुपर्ने बताए । उनले पार्टीहरु सत्तामा पुगेपछि प्रतिवद्धताबाट विचलित हुने, भ्रष्टाचार रोक्न नसक्ने र विकृति र विसंगतिको शिकार हुने गरेकाले यस विषयमा सबैले खोजी गर्नुपर्ने बताए । उनले भने – ‘हामी सबैले सोच्नुपर्ने एउटा गम्भिर विषय के छ भने हामी एकल पार्टी सत्तामा जाँदा पनि वा संयुक्त रुपले सत्तामा जाँदा पनि हामीले आन्दोलनको बेलामा जनताको अगाडी जे प्रतिज्ञा र प्रतिवद्धता गरेका हुन्छौँ । सत्तामा पुगेपछि हामीले त्यसै अनुसार व्यवहार गर्न सकेका छैनौँ । हामी सबैले आत्मसमिक्षा गर्नुपर्ने विषय छ । एकल पार्टी सत्ता होस् या संयुक्त सरकार होस् । सत्ता सञ्चालनमा जाँदा हामी कहिँ न कहीँ धर्ति छोडेको जस्तो कहीँ न कहीँ आफ्ना ऐतिहासिक राजनीतिक प्रतिज्ञा र प्रतिवद्धता, जनताको अगाडी गरिएका, निर्वाचनको बेलामा गरिएका प्रतिवद्धताबाट विचलित भएका उदाहरणहरु छन् । नेपाली कांग्रेसका सबै नेता साथीहरु, युवा नेताहरु अझ खासगरी सबैले यसको समिक्षा गर्नु जरुरी छ । किन सत्तामा पुगेपछि कहिँ न कहिँ नेतृत्व पंक्ति वा राजनीतिक दलहरु आफ्नो प्रतिज्ञा र प्रतिवद्धताहरु विचलित हुन्छन् । किन जनताले सोचेजस्तो गरी काम गर्न सक्दैनन् । किन सुशासन दिन सक्दैनन् । किन भ्रष्टाचार रोक्न सक्दैनन् । आन्दोलनमा त्यत्रो त्याग, तपस्या र बलिदान गर्न सक्ने पार्टीहरु सत्तामा पुग्दा किन सत्ता लिप्साबाट बिसंगति र विकृतिको शिकार हुन्छन् । मलाई लाग्छ, हामी सबैले खोजि गर्नुपर्ने विषय यही नै छ ।’
उनले लोकतन्त्रको निम्ति संघर्ष गरेका राजनीतिक दल र दलका नेताहरुलाई बद्नाम गरेर निरंकुशता र तानाशाही जन्माउने षड्यन्त्र गर्न लागिएको भन्दै त्यसका विरुद्ध सर्तक रहन जरुरी रहेको पनि बताए ।