काठमाडौँ: नेपाली काँग्रेसको महाधिवेशनमा सहभागी अधिकांशको रक्तचाप सन्तुलित रहेको पाइयो । महाधिवेशन कार्यक्रमस्थल भृकुटीमण्डपमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गरिएका अधिकांशको रक्तचाप सन्तुलित रहेको पाइएको हो । ब्लुक्रस अस्पतालले शिविर सञ्चालन गरेको थियो ।
स्वास्थ्यकर्मी सोमिमा आचार्यले भन्नुभयो– “एकाध सहभागीको मात्र रक्तचापमा गडबडी देखिएको छ ।” महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति र महासमिति सदस्यको सहभागिता रहेको भृकुटीमण्डप क्षेत्र धूमपानविहीन रह्यो । प्रहरी अस्पताललगायतका एम्बुलेन्स तयारी अवस्थामा राखिए पनि एम्बुलेन्सको उपयोग भएन । महाधिवेशन कार्यक्रम स्थलमा नुवाकोट बेलटारबाट बदामको भारीसहित आइपुग्नुभएका प्रमोद नेपालले खासै बदाम बिक्री नभएको गुनासो गर्नुभयो । सहभागीमध्ये केहीले मात्र घाम न्यानो हुँदै गर्दा बदाम खाए भने महिलाले तितौरा खान रुचाए । चितवनमा भएको नेकपा एमालेको महाधिवेशनमा ह्वात्तै बदाम बिकेकाले आफूहरू नुवाकोटबाट भृकुटीमण्डपमा बदाम बेच्न आइपुगेको उहाँले बताउनुभयो ।
व्यापार चम्क्यो
भृकुटीमण्डपमा खाजा पसल चलाउँदै आउनुभएकी सीता थापाको व्यापार भने राम्रै जम्यो । उहाँले दैनिक १० देखि १५ हजारसम्मको व्यापार गर्दै आउनुभएकोमा अहिले झण्डै ६० हजार रुपियाँसम्मको व्यापार भइरहेको बताउनुुभयो । अरू समयमा लगानीबाट भाडा तिर्न र खान बस्न मात्रै पैसा हुने भए पनि मण्डपमा हुने कार्यक्रमले व्यापार बढेको उहाँको भनाइ छ । अर्का खाजा पसल सञ्चालक मातृकाप्रसाद राईको व्यापार झण्डै चार गुणाले चम्केको छ । सहभागीका लागि १३ स्टलमा खानाको व्यवस्था गरिएको छ । खाना व्यवस्था गर्ने अनुपम फुड ल्यान्डका व्यवस्थापक ध्रुव आचार्यले ६५० केजी चामल, एक हजार केजी लोकल कुखुरा, एक हजार केजी खसीको मासु, छ सय केजी काउली र यससँगै मिसिने परिमाणको आलु ताजा सागको व्यवस्था भए पनि सहभागीहरू खानका लागि मरिहत्ते गर्ने खालको नपाइएको बताउनुभयो । सहभागीमध्ये धेरैजसो शाकाहारी भोजनतर्फ आकर्षित भएको पाइएको छ ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।