२५ मंसिर, काठमाडौँ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब राजनीतिक प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन् । जारी १४ औँ महाधिवेशनमा पौडेलले सभापतिमा उम्मेदवारी दिने चर्चा थियो । तर, संस्थापन इतर समूहमा सभापतिका अन्य आकांक्षीले अडान राखेपछि पौडेलले अब राजनीतिक प्रतिस्पर्धा नगर्ने घोषणा गरेका हुन् ।
उम्मेदवारी दर्ताको दिन आज बिहानै उनले अब प्रतिस्पर्धा नगर्ने आफू निकटका कार्यकर्तासँग बताएका हुन् । कांग्रेसका प्रभावशाली नेता गगन थापा, बद्री पाण्डे, मिनेन्द्र रिजाल, दिलेन्द्र बडूलगायत पौडेललाई भेट्न बोहोराटारस्थित उनको निवासमा पुगेका थिए ।
सो क्रममा उनले अब आफू सभापतिका लागि प्रतिस्पर्धा नगर्ने बताएको स्रोतले जानकारी दियो । पौडेलले आफू उम्मेदवार नबन्ने घोषणा गरे पनि आफ्नो समर्थन कता हुने भन्ने कुरा भने खुलाएनन् ।
उमेरले ८१ वर्ष लागेका पौडेलले अहिलेसम्म आफूले नेता कार्यकर्ताको संरक्षण गर्दै आएको बताएका थिए । ‘आजसम्म मैले जे जसरी नेता कार्यकर्ताको संरक्षण गरें गरें । आजदेखि तपाईहरू आ-आफ्नो संरक्षण गर्नुहोस् । अब राजनीतिक प्रतिस्पर्धा रहिनँ,’ पौडेलको भनाइ उद्धृत गर्दै भेलामा सहभागी एक नेताले बताए ।