२७ मंसिर, काठमाडौं ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ ।
बिहान आठ बजेदेखि सुरु हुने भनिए पनि तीन घण्टाभन्दा ढिला मतदान सुरू भएको हो । साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्यतालिका छ । मतपत्र छपाइमा ढिलो हुँदा मतदान समयमै सुरु गर्न नसकेको निर्चावन समितिले जनाएको छ । मतदानका लागि भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा व्यवस्था मिलाइएको छ ।
भोट खसाल्न प्रतिनिधिहरू बिहानैदेखि लामबद्ध भएका छन् । उम्मेदवारहरू भने मत माग्न व्यस्त छन् । मतदानस्थलमा सभापतिका उम्मेदवारहरू शेखर कोइराला, शशांक कोइराला र प्रकाशमान सिंहले बिहानै अवलोकन गरेका थिए । शेरबहादुर देउवा भने अहिलेसम्म मतदान स्थलमा देखिएका छैनन् ।
नयाँ नेतृत्व चयनका लागि कांग्रेसका ४ हजार ७ सय ४३ मतदाता सहभागी हुँदैछन् । कांग्रेसले १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र अन्य केन्द्रीय सदस्य गरी जम्मा १३४ जना नेता छान्न निर्वाचन गर्न लागेको हो ।
सभापतिदेखि केन्द्रीय सदस्यसम्म १३४ पदका लागि ४९१ जना चुनावी मैदानमा छन् । सभापति पदका लागि ५, उपसभापतिमा ७, महामन्त्रीमा ६ जनाको उम्मेदवारी परेको छ । एक जना कोषाध्यक्षसहित ३३ जना केन्द्रीय सदस्य पछि मनोनीत गर्ने व्यवस्था कांग्रेसमा छ ।