काठमाडौँ बाहिरका जिल्लाबाट पनि ई-राहदानी वितरण सुरु गर्ने तयारी

काठमाडौँ बाहिरका जिल्लाबाट पनि ई-राहदानी वितरण सुरु गर्ने तयारी

२७ मंसिर, काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाबाट विद्युतीय राहदानी अर्थात ई–पासपोर्ट वितरण सुरु भएको छ ।

काठमाण्डौ उपत्यका बाहिरका जिल्लाबाट पनि छिटै वितरण सुरु हुने राहदानी विभागले जनाएको छ । विभागका महानिर्देशक डोरनाथ अर्यालले पूर्व–पश्चिम राजमार्गसँग जोडिएका जिल्लाबाट केही दिनभित्रै ई–पासपोर्ट वितरण सुरु हुने जानकारी दिए । त्यसपछि क्रमशः सबै जिल्लाबाट ई–पासपोर्ट वितरण सुरु हुने उनको भनाइ छ ।

विभागले मंसिर १ गतेदेखि काठमाण्डौबाट ई–पासपोर्ट वितरण सुरु गरेको हो । अहिलेसम्म मेसिन रिडेबल पासपोर्ट अर्थात एमआरपी र ई–पासपोर्ट दुवै वितरण हुँदै आएकोमा भोलिदेखि एमआरपी वितरण बन्द हुने भएको छ । अब ई–पासपोर्टको मात्रै काम हुने हुँदा अहिलेसम्म देखिएका झण्झट अन्त्य हुने महानिर्देशक अर्यालको भनाइ छ ।

ई–पासपोर्टको लागि आवेदन दिँदा अनलाइन प्रणालीमा समस्या हुने लगायतका झण्झट देखिएको सेवाग्राहीको गुनासो छ । अब यस्तो गुनासोको अन्त्य हुने र सजिलै ई–पासपोर्ट लिन सकिने अर्यालले दाबी गरे । ई–पासपोर्ट बनाउनेले राष्ट्रिय परिचयपत्र वा त्यसको भेरिफाइड नम्बर अनिवार्य भर्नुपर्नेछ।

जिल्ला प्रशासन कार्यालयहरुबाट तत्कालै राष्ट्रिय परिचयपत्र नपाए पनि जिल्ला प्रशासन कार्यालयमा आवेदन भरेपछि पाइने परिचयपत्र नम्बर पासपोर्टमा अनिवार्य गरिएको छ । हातले लेख्ने पासपोर्ट हुँदै मेसिनले पढ्ने र अहिले ई–पासपोर्ट आएको हो ।

चिप्स र विद्युतीय बारकोडसहितको ई–पासपोर्टलाई सुरक्षित र भरपर्दो मानिन्छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.