देउवाले बहुमत ल्याउन सकेनन्, कांग्रेस सभापतिको चयन दोस्रो चरणमा धकेलियो

देउवाले बहुमत ल्याउन सकेनन्, कांग्रेस सभापतिको चयन दोस्रो चरणमा धकेलियो

२८ मंसिर, काठमाडौं ।
कांग्रेस सभापतिको चयनका लागि फेरि मतदान हुने भएको छ ।

पहिलो चरणमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि फेरि मतदान हुन लागेको हो । सभापतिका लागि शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो ।

पहिलो चरणमै जित निकाल्नका लागि बहुमत अर्थात २३ सय ४० मत आवश्यक थियो । तर, सभापतिका प्रत्यासी कसैले पनि बहुमत प्राप्त गर्न सकेनन् । पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् । उनले ८२ मतले ५० प्रतिशत कटाउन सकेनन् । कोइरालाले १७२९, सिंहले ३७१ निधिले २४९ र गुरुङले २० मत प्राप्त गरे ।

अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ ।

निर्वाचन समितिले मतपत्रको तयारी गरेर तुरुन्तै मतदान प्रक्रिया अघि बढाउने जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.