२८ मंसिर, विराटनगर ।
कांग्रस सभापतिको सोमबार भएको निर्वाचनमा सभापति शेरबहादुर देउवाले पहिलो र अर्का प्रत्यासी शेखर कोइरालाले दोस्रो भोट पाएपनि बहुमत पुर्याउन सकेनन् ।
कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ । त्यसआधारमा अब देउवा र कोइरालाबीच पुनः प्रतिस्पर्धा हुनेछ ।
यस्तोमा दोस्रो चरणको निर्वाचनमा अब प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ निर्णायक बनेका छन् । पहिलो चरणको निर्वाचनमा तेस्रो, चौथो र पाँचौ भएका सिंह, निधि र गुरुङ निर्णायक बन्ने देखिएका हुन् ।
पहिलो चरणको निर्वाचनमा देउवाले २२५८ मत प्राप्त गरेका छन् भने कोइरालाले १७०२ मत पाएका छन् । देउवा र कोइरालाका बीच ५५६ को मतान्तर छ ।
जबकि सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका छन् । सिंह, निधि र गुरुङको मत जोड्दा ६४३ मत हुन्छ । जबकि जितका लागि देउवालाई ८२ मत र कोइरालालाई करिब छ सय मत आवश्यक पर्छ । महाधिवेशनमा ४ हजार ७ सय ४३ मतदाता छन् । पहिलो चरणको निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेको थियो ।
देउवाले पहिलो चरणमै ५० प्रतिशत कटाएर जित निकाल्ने रणनीति अपनाएका थिए । त्यसैका लागि उनले पहिलो चरणमै नेता कृष्णप्रसाद सिटौलासँग समीकरण गरेर प्यानल बनाएका थिए । तर, झिनो मतले उनले बहुमत पुर्याउन सकेनन् ।
कोइराला भने चुनावलाई दोस्रो चरणमा लैजाने र परिणाम आफ्नो पक्षमा पार्ने दाउमा छन् । सिंह र निधिले पनि चुनाव दोस्रो चरणमा पुगेको अवस्थामा आफूहरूको भूमिका अर्थपूर्ण देखेका थिए ।
निधिले यसअघि नै आफूहरूले कोइरालालाई सहयोग गर्ने घोषणा गरिसकेका छन् । ‘चुनाव दोस्रो चरणमा जान्छ, प्रकाशमानजी, म र शेखरजी मिल्छौँ, दोस्रोचरणबाट नेतृत्व परिवर्तन हुन्छ,’ उनले भनेका थिए ।
त्यस्तै, प्रकाशमान सिंहले पनि सोमबार मतदान गरेर बाहिरिदै गर्दा आफू नेतृत्व परिवर्तनको पक्षमा रहेको बताएका थिए । दोस्रो चरणमा निर्वाचन हुने भएपछि नेताहरूबीच दौडधुप सुरू भएको छ । देउवा जित आफ्नो पक्षमा पार्न सिंह वा निधिलाई आफ्नो पक्षमा पार्न सके पुग्नेछ ।
तर, कोइरालाका लागि देउवाबाहेक सबैका बीचमा एकता गर्नुपर्ने आवश्यक देखिएको छ ।