२८ मंसिर, विराटनगर ।
नेपाली कांग्रेस १४औं महाधिवेशनमा महामन्त्री पदका प्रत्यासी गगन थापाले राजनीतिमा देखिएका अनेकन बेथितिको अन्त्य गर्न र कांग्रेस पार्टीको विधि र थिति बदल्न नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएका छन् ।
सभापति पदका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच पुनः प्रतिस्पर्धा हुने भएपछि थापाले अपिल जारी गरेका हुन् । उनले अपिलमा महाधिवेशन लगत्तै तीन तहको निर्वाचनमा होमिनुपर्ने भएको हुँदा पार्टीले एक्लै जित्ने बनाउन लाखौं मतदातालाई आकर्षित गर्न सक्नुपर्ने अवस्था रहेको र त्यसका लागि नयाँ उत्साह र जागरण आवश्यक रहेको बताएका छन् ।
हामीले आज त्यो उत्साहको सञ्चार गर्न सक्नैपर्छ संविधान कार्यान्वयनको सफल नेतृत्व गर्न, राजनीतिमा देखिएका अनेकन बेथितिको अन्त्य गर्न र पार्टीको विधि र थितिमा बदल्न पनि नेतृत्वमा परिवर्तन अपरिहार्य छ के अहिलेकै शैली र नेतृत्वको निरन्तरताबाट त्यो भूमिका सम्भव होला त ? हामीसँग धेरै अलमल गर्ने समय छैन, तत्काल हामीले निर्णय लिनुपर्नेछ, अपिलमा भनिएको छ ।
उनले समुन्नत नेपाल सम्मानित नेपालीको सपना पुरा गर्नका लागि चाहिने वैचारिक स्पष्टता, सांगठनिक आधार र जुझारु नेतृत्व कांग्रेसले दिन सक्छ कि सक्दैन भन्ने नै महाधिवेशनको मूल चुनौती भएको पनि अपिलमा बताएका छन् । यो पटक हामी चुक्यौं र समयले सुम्पेको कार्यभारलाई हामीले आफ्नो कार्मद्वारा प्रमाणित गर्न सकेनौं भने इतिहासले हामीलाई क्षमा गर्ने छैन, उनले भनेका छन् ।
थापाले अग्रजहरूको बलिदान र भावी सन्ततिका सपनाको स्मरण गर्दै विवेकपूर्ण निर्णय गर्न र पार्टी रुपान्तरणको लागि डा। शेखर कोइरालालाई सभापति पदमा विजयी गराउनुपर्ने अपीलमा उल्लेख गरेका छन् ।