२९ मंसिर, काठमाडौं ।
नेपाली कांग्रेसमा सभापति पदको टुंगो लागेसँगै अन्य पदाधिकारी र केन्द्रीय सदस्यतर्फ मतगणना आजै दिउँसोबाट सुरू हुने भएको छ।
आजै १ तहको मतगणना हुने भन्दै निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले पदाधिकारीको मतगणना दिउँसोबाट सुरू जानकारी दिए। अन्य पदाधिकारीको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ। यसको मतपेटिका चुनावकै दिन सोमबार राति पार्टी कार्यालयमा लगेर राखिएका छन्।
आज मत गन्न थालेर आगामी पुस ५ गते भित्र सबै मत परिणाम आइसक्ने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। उनले मत गणनालाई सक्दो छिटो सम्पन्न गर्नेगरी व्यवस्थापन गरिने बताए। घिमिरेका अनुसार सबैको मत परिणाम आएपछि मात्र विजयी उम्मेदवारलाई प्रमाणपत्र दिने र सपथ खुवाउने कार्यक्रम रहेको छ।
कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो। पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि मंगलबार पुनः मतदान भएको थियो। दोस्रो चरणमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका थिए। बुधबार बिहान सभापतिका उम्मेदवारको मतगणना सम्पन्न भएको थियो।
निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सभापतिमा विजयी देउवाले २ हजार ७ सय ३३ मत प्राप्त गरेका थिए। सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले १ हजार ८५५ मत प्राप्त गरेका थिए। दोस्रो चरणको निर्वाचनमा कूल ४ हजार ६ सय २३ मत खसेको थियो। जसमध्ये ३५ मत बदर भएको थियो।
कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका थिए। एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।