१ पुस, विराटनगर ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेले अध्यक्ष केपी शर्मा ओली झूट, बेइमानी र धोकाको अर्को नाम भएको आरोप लगाएका छन् ।
बुधबार पार्टीका मनोनीत केन्द्रीय सदस्यहरुको शपथग्रहण कार्यक्रममा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र र माओवादी अध्यक्ष दाहालबीच २०६० साल मंसिर १८ गते ५ बुँदे सहमति भएको दाबी गरेका थिए । उक्त दाबीको खण्डन गर्दै दाहालले बिहीबार प्रेस वक्तव्य जारी गरेका छन् ।
दाहालले ओलीको आरोप खण्डन गर्दै भनेका छन्, दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष केपी शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शतप्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् ।
दाहालले ओलीलाई उक्त पाँच बुँदे सहमति प्रमाणित गर्न पनि चुनौती दिएका छन् । साथै प्रमाणित गर्न नसके जनतासँग माफी माग्न पनि दाहालको चुनौती छ ।
दाहालले अगाडि भनेका छन्, म केपी ओलीलाई पाँच बुँदे सहमतिु प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु । त्यस्तै कुनै सेयरकारोबारीले चन्दा नदिएपछि बजार ध्वस्त पारिदिएको भन्ने ओलीको आरोपलाई पनि दाहालले नकारेका छन् ।
उनले भनेका छन्, मार्क्स्वाद र कम्युनिस्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषणमाथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु ।
लगानीकर्ताको हितका पक्षमा आफू रहेको उल्लेख गर्दै दाहालले भनेका छन्, आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको सेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु ।
दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन म सेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।