१ पुस, काठमाडौं ।
नेपाली कांग्रेसको महामन्त्री पदमा युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा जीत नजिक पुगेका छन्।
कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको जारी मतगणनाअनुसार नेताद्वय थापा र शर्मा जीत नजिक पुगेका हुन्। अहिलेसम्मको मत गणनामा थापा र शर्माले आआफ्नो अग्रतालाई कायम राखेका छन्। ३९९० मत गणना हुँदा थापाले २५८१ मत ल्याएका छन्। १६४६ मतका साथ विश्वप्रकाश शर्मा दोस्रो स्थान आएका छन्।
६ जना उम्मेदवारमध्ये अग्रस्थानमा रहेका दुईजना कांग्रेसमा महामन्त्री निर्वाचित हुनेछन्। यस्तै डा प्रकाशशरण महतको १३२७, प्रदीप पौडेलको ११८८, डा मिनेन्द्र रिजालले ६८७ र राजाराम कार्कीले ८८ मत ल्याएका छन्।
कांग्रेस महामन्त्रीको दौडमा अगाडि रहेका थापा र शर्मा सभापति निर्वाचित शेरबहादुर देउवाको प्यानलविरुद्धका उम्मेदवार हुन्। सभापति देउवा प्यानलबाट महामन्त्रीमा महत र पौडेल उम्मेदवार छन्। उनीहरु क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन्।