५ पुस, कैलाली ।
कैलालीमा अरुण दास बीभत्स हत्या अभियोगका एक शंकास्पद व्यक्ति पक्राउ परेका छन् ।
जानकी गाउँपालिका वडानम्बर ९ का २५ वर्षीय दासको शव शनिबार साँझ सोही गाउँपालिकाको अमरावती सामुदायिक वनमा रुखमा बाँधेर टाउको छिनालेर बीभत्स हत्या गरेको अवस्थामा फेला परेको थियो ।
दासको हत्या अभियोगका शंकास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय कैलाली स्रोतका अनुसार हत्यामा चार–पाँच जनाको संलग्नता देखिएको छ । ‘हामीले दासको हत्यामा संलग्न एक शंकास्पद व्यक्तिलाई पक्राउ गरेका छौं ।
हत्यामा चार–पाँच जनाको संलग्नता देखिन्छ । दासको हत्या गरेर फरार भएका उनीहरूको खोजी भइरहेको र चाँडै हत्यारासम्म पुग्ने प्रहरीको दाबी छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार दासको हत्या उनकै समूहका युवाहरूले गरेका हुन् ।
‘दासको हत्या साथी सर्कलबाट नै भएको देखिन्छ । त्यसरी बीभत्स हत्या गर्नुपर्ने अवस्थाको विवाद पनि भएको छैन । तर, उनीहरू लागूऔषध प्रयोगकर्ता भएका कारण त्यो हदसम्म पुगेको देखिन्छन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ।
ती अधिकारीका अनुसार हत्यारा समूहले दासले आफ्नै समूहका एक साथीको मोबाइल चोरी गरेको आरोप लगाएर बन्धक बनाएर सोधपुछ गरेको र उनले चोरी गरेको स्वीकार नगरेपछि हत्या गरेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले पनि दासको हत्यामा संलग्न अभियुक्तको पहिचान भइसकेको र खोजी कार्य जारी रहेको बताए ।
हत्यापछि दुई युवकबीच भएको फोन रेकर्डले पनि धेरै कुरा खुलेको प्रहरीको दाबी छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको फोन रेकर्डमा मनोज नाम गरेका एक युवाले भनेका छन्, ‘घाटी अलग छ । शरीर अलग छ । एक–दुई दिनमा तपाईँ थाहा पाउनुहुन्छ ।’
मनोजले नेपालगञ्जको रुपैडिया नाका हुँदै आफूँहरू भारत गइरहेको बताएका छन् । मनोज पनि दासकै गाउँले रहेको खुलेको प्रहरीले जनाएको छ ।