बेपत्ता चन्द्रे कामी फेला परे

बेपत्ता चन्द्रे कामी फेला परे

७ पुस, विराटनगर ।
गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन रहेका हुम्लाका चन्द्रे कामी भेटिएका छन्।

उनको खोजीमा गएको प्रहरीले खार्पुनाथ गाउँपालिकामा चन्द्रेलाई फेला पारेका छन्। उनको खोजीका लागि ३५ जना प्रहरी परिचालन गरिएको थियो।
बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा चन्द्रेलाई फेला पारिएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार उनलाई सदरमुकाम ल्याइँदैछ।

‘प्रहरी टोलीले उहाँलाई खार्पुनाथमा फेला पारेको छ,’ भण्डारीले भने, ‘अब जिल्लामा ल्याउँदैछौं, बाँकी विवरण यहाँ ल्याएपछि मात्र थाहा हुन्छ।’
हुम्लाको सर्केगाड गाउँपालिका–१ जैर गाउँका चन्द्रेले मंसिर ५ गते मुगुको सोरु गाउँपालिका–४ की रमिला मल्ललाई भगाएपछि रमिलाका माइती पक्षले २९ गते राती खोसेर लिएका थिए।

त्यसै दिनदेखि चन्द्रे सम्पर्कविहिन थिए। उनलाई खोज्न जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएसपी हेरम्ब शर्माको नेतृत्वमा ३५ जना प्रहरी परिचालन गरिएको थियो। रमिला र उनका बुवा प्रहरीको निगरानीमै छन्। चन्द्रेको परिवारले उनलाई रमिलाका माइती पक्षले सँगै लिएको दाबी गरिरहेका छन्।

रमिलाको परिवारले भने आफूहरुले छोरी मात्र ल्याएको बताएका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.