७ पुस, काठमाडौं ।
बुधवारका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ ।
बैठक स्थगित भएको न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले बताएका छन्। स्थगित गर्नुको कारण आयोगका सदस्य रहेका लोक सेवा आयोगका अध्यक्ष काठमाडौं बाहिर रहनुलाई बताइएको छ।
तर नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले मङ्गलवार आयोगमा सदस्य रहने कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री दिलेन्द्रप्रसाद बडु तथा महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई भेटेर बैठकमा सहभागी नहुन आग्रह गरेको बताइएको छ।
एसोसिएसन दुई महिनाभन्दा बढी समयदेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनमा छ। वकिल र सर्वोच्चकै न्यायाधीशहरूको असहयोगका कारण न्याय सम्पादनको कामबाट अलग रहेका जबराले न्याय सेवाको प्रशासनिक जिम्मेवारीहरू रहने आयोगको डाकिएको बैठक अन्तिम समयमा आएर स्थगित गर्नुलाई कतिपयले उनको अर्को असफलताका रूपमा अर्थ्याएका छन्।
बैठकका लागि अर्को मिति तोकिएको छैन। प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा कानुनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, लोकसेवा आयोगका अध्यक्ष र महान्यायाधिवक्ता सदस्य रहने प्रावधान छ।