कसरी असफल भए धुर्मुस सुन्तली? कसले तिर्छ १७ करोड ऋण ?

कसरी असफल भए धुर्मुस सुन्तली? कसले तिर्छ १७ करोड ऋण ?

८ पुस, विराटनगर ।
चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस सुन्तलीले हात झिकेका छन् ।

उनीहरुले सरकारलाई स्वामित्व लिन पत्र लेख्दै रंगशाला निमार्णबाट हात झिकेपछि रंगशाला निमार्णका क्रममा लागेको १७ करोड ऋण कसले तिर्छ भन्ने वहस सुरु भएको छ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको स्वामित्व लिनका लागि धुर्मुस–सुन्तली फाउन्डेसनले संघीय सरकार र भरतपुर महानगरपालिकालाई पत्राचार गरेको छ ।

रंगशालाका निर्माणका लागि आर्थिक संकलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न फाउन्डेसन तयार भएको हो । महानगर र फाउन्डेसनको संयुक्त पहलमा निर्माण भइरहेको रंगशाला आर्थिक समस्याका कारण विगत पाँच महिनादेखि अवरुद्ध बनेको छ ।

आर्थिक व्यवस्थापनबारे महानगर र सरकारसँग फाउन्डेसनले निरन्तर ताकेता गर्दै आएको थियो । तर, लामो समयसम्म यसमा कुनै निर्णय नभएपछि फाउन्डेसनले सम्झौता अनुसार प्रक्रियागतरुपमा पत्र लेखेको हो । महानगरसँगै युवा तथा खेलकुद मन्त्रालयलाई पनि पत्राचार गरिएको छ ।

फाउन्डेसनले महानगरलाई लेखेको पत्रमा भनिएको छ, ‘फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच भएको सहमतिपत्रको बुँदा नं ८ मा उल्लेख भएअनुसार विश्वव्यापी महामारी कोभिड– १९ का कारण विशेष परिस्थिति उत्पन्न भई आर्थिक स्रोत अभाव भएकाले तोकिएको समयमा रंगशाला निर्माण कार्य कठिनाई भएको छ ।’

सम्झौतामा विशेष परिस्थिति उत्पन्न भएमा निर्माणकै क्रममा स्वामित्व हस्तान्तरण गर्नसक्ने उल्लेख छ । सामान्य अवस्थामा निर्माण सम्पन्न गरी महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गर्ने गरी सम्झौता गरिएको थियो । फाउन्डेसनका प्रमुख सिताराम कट्टेल धुर्मुसले रंगशाला लामो समय अलपत्र भएकाले प्रक्रियागतरुपमा सरकारलाई पत्र पठाइएको बताएका छन् ।

निर्माणको मोडालिटीबारे अझै पनि आफूहरु छलफलमै रहेको उनले जानकारी दिएका छन् । रंगशाला निर्माणका क्रममा फाउन्डेसनलाई १७ करोड ऋण लागेको छ । यो ऋणको जिम्मेवारी सरकारले लिएर रंगशालाको बाँकी आर्थिक व्यवस्थापन सरकारले गरिदिएमा निर्माणको संयोजन गर्न फाउन्डेसन अझै तयार रहेको उनको भनाइ छ ।

महानगरकी मेयर रेणु दाहालले महानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरी आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिएकी छन् । यस सम्बन्धमा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजसँग परामर्श गरी काम अघि बढाइएको उनको भनाइ छ ।

दाहालका अनुसार फाउण्डेशनले महानगरमा पेश गरेको विवरण सरकारी तवरबाट जाँचबुझ गरी मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा पठाएर तिर्नुपर्ने भुक्तानीका लागि प्रक्रिया अघि बढाइँदै छ । महानगरपालिकाले नै त्रिभुवन र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग समन्वय गरेर सो जग्गा रङ्गशालाका लागि उपलब्ध गराएको थियो ।

रंगशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशत काम सकिएको फाउण्डेशनले दाबी गरेको छ । रंशालामा अहिलेसम्म ५४ करोड ६२ लाख २१ हजार खर्च भइसकेको यसअघि नै फाउन्डेशनले जनाएको थियो । रंगशाला सम्पन्न गर्न तीन अर्ब हाराहारी खर्च हुने अनुमान गरिएको छ । चन्दा उठाएर ३ अर्बको ‘प्रोजेक्ट’ बनाउने महत्वकांक्षाले धुर्मुस र सुन्तली भने डुबेको देखिएको छ ।

आर्थिक रुपमा आफूहरु ऋणमा डुबेको बताईरहेका उनीहरुले अहिले आलोचना पनि खेप्नुपरेको छ । एकातिर १७ करोड ऋणको बोझ र अर्कोतिर सामाजिक टिकाटिप्प्णी तथा आलोचनाले धुर्मुस र सुन्तलीलाई सकस पारेको छ । ऋण लागेपछि काम रोकेका धुर्मुस सुन्तलीले साउन भदौ तिर १५ करोड ऋण लागेको बताएका थिए ।

त्यतिबेला महानगरलाई पनि उनले १५ करोड ४५ लाख ऋण लागेको भन्दै सम्झौता अनुसार स्वामित्व लिन अनुरोध गरेका थिए । तर, अहिले ऋण १७ करोड पुग्यो भनिरहेका छन् । त्यसैले उनीहरुले बुझाएको विवरणमा सहमत हुन नसकेर महानगरले नेपाल चार्टर एकाउन्टेन्ट संस्थाबाट थप अध्ययन गर्न लागेको छ ।

आर्थिक स.कटसाग जुधिरहेको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विद्युत पनि काटिएको छ । लामो समयदेखि विजुलीको बिल नतिरेपछि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले धुर्मुस सुन्तली फाउन्डेसनको लाइन काटिदिएको छ ।

भरतपुर महानगरपालिका–१६ मा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि धुर्मस सुन्तली फाउण्डेशनले लिएको विद्युतको बक्यौता रकम नतिरेकोले लाइन कटिदिएको प्राधिकरणले जनाएको छ । इन्जिनियर राजेन्द्र पौडेलका अनुसार फाउण्डेशनले आठ लाख ८७ हजार रुपैयाँ बक्यौता प्राधिकरणलाई तिर्न बाँकी छ ।

कलाकारितामा जमेका कट्टेल दम्पतिले टेलिभिजन कार्यक्रम ‘मेरी बास्सै’बाट नाम कमाएका थिए। उनीहरूले यसअघि काभ्रेपलान्चोकको पाँचखाल नगरपालिकास्थित डाँडाँगाउँमा भू्कम्पपीडितका लागि, सिन्धुपाल्चोकको मेलम्चीस्थित गिरानचौर र महोत्तरीको बर्दिबासमा पनि एकीकृत नमूनाबस्ती बनाएका थिए ।

उनीहरूले आफ्नै अगुवाइमा जुटाएको आर्थिक सहयोगबाटै ती वस्ती निमार्ण गरेका थिए ।

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगाशाला निर्माण गर्ने घोषणा कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले चलाएको धुर्मुस–सुन्तली फाउण्डेशनले २०७५ साल माघ १६ गते गरेको थियो । तर करोडका आयोजनामा सफल भएको धुर्मुस–सुन्तली फाउण्डेशन अर्बको, त्यो पनि चन्दा संकलन गरेर निमार्ण गर्ने क्रिकेट रंगशालामा भने असफल भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.