क्रिसमस डेः राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

क्रिसमस डेः राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

१० पुस, विराटनगर ।
आज क्रिश्चियन धर्मावलम्बीहरुको विशेष दिन।

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिन। आज क्रिश्चियन धर्मावलम्बीहरु क्रिसमस डे धुमधामसँग मनाउँदैछन्। हरेक वर्ष डिसेम्बर २५ तारिखमा धार्मिक, सांस्कृतिक उत्सवका रूपमा ‘क्रिसमस डे’ मनाइन्छ ।

आजको दिनलाई प्रेम दिवस, शान्ति दिवस र मुक्ति दिवसका रूपमा मनाउने गरिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सीबी गहतराजले जानकारी दिए । क्रिसमस डे का अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । क्रिसमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ ।

आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । नेपालमा २०६३ सालपछि महोत्सवको रुपमा दिवस मनाउन थालिएको हो । काठमाण्डौको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरालगायत ठाउँमा क्रिसमस ट्रीलगायतले बजार र ठूला व्यापारिक स्थल सजाइएको छ ।

महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानमा क्रिसमस महोत्सव, २०७८ आयोजना गरिएको छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन् ।

राष्ट्रपति भण्डारीले आज दिएको शुभकामना सन्देशमा यस्ता चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

उनले क्रिसमस डेजस्ता पर्वले सबै नेपालीबीच आपसी विश्वाकस, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज तथा समुन्नत नेपाल निर्माणतर्फ अग्रसर हुन सबैमा प्रेरणा मिल्ने बताएकी छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शुभकामना सन्देशमार्फत चाडपर्व र संस्कृति राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि महत्वपूर्ण रहँदै आएको उल्लेख गर्दै क्रिसमसले सबै नेपालीबीच एक आपसमा विश्वास र बन्धुत्वको भावना कायम राख्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको मुलुक भएको र जातिय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्र नभई विश्व समुदायकै लागि एक महत्वपूर्ण पूँजी रहँदै आएको शुभकामना सन्देशमा उल्लेख छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.