१० पुस, काठमाडौं ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई भोट नदिनेहरुको पनि साथ लिएर पार्टी संचालन गर्ने बताएका छन् ।
शनिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको निर्वाचित प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभापति देउवाले आफू पार्टीमा सबैको सभापति भएको र सबैलाई समेटेर उनीहरुको मतको कदर गर्दै पार्टीलाई अघि बढाउने बताएका हुन् ।
उनले आगामी निर्वाचनमा पार्टीलाई सबैभन्दा ठूलो दल बनाउनुपर्ने चुनौति रहेको उल्लेख गर्दै ती चुनौतिलाई पनि सामना गरेर पार्टीलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । त्यसका लागि पार्टीलाई निष्पक्ष ढंगले अघि बढाउने सभापति देउवाको योजना छ । त्यस अवसरमा उनले आगामी निर्वाचनमा विजयी गराउने गरी पार्टीलाई अघि बढाउन सबैको साथ र सहयोग हुने विश्वास समेत व्यक्त गरे ।
सभापति देउवाले भने, ‘भोलीका दिनमा हाम्रो लागि ठूलो चुनौति पनि छ । स्थानीय निर्वाचनदेखि राष्ट्रिय निर्वाचनमा पनि पार्टीले जित्नुपर्नेछ । हाम्रो पार्टीले सबैभन्दा ठूलो पार्टी बन्नुछ । यो पार्टीले सच्चा मानेमा सम्पूर्ण नेपाललाई आत्मासात गर्दै, सम्पूर्ण नेपालको प्रतिनिधित्व गर्दै यस पार्टीलाई भोलीका दिनमा जसरी तपाईहरुले मलाई विश्वास गर्नु भो । म सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउन लाग्नेछु ।
पूर्ण रुपमा सबैको सहयोग, निष्पक्ष रुपमा सबैको सहयोग, महाधिवेशनमा भोट नहाल्नेसँग पनि मलाई मतलव छैन । म सबैको सभापति हुँ । म सबैको सभापति हुने प्रयास मात्रै होइन्, त्यही गर्नेछु । मेरो जिम्मा ठूलो छ । त्यसकारण सबैलाई समावेश गरेर, सबैको सभापति बनेर, सबैको भावनाको कदर गरेर यो पार्टीलाई हाँक्न चाहन्छु । र यसमा सबैको सहयोग हुने विश्वास लिएको छु ।’
सभापति देउवाले पार्टीको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने गरी निर्वाचन सम्पन्न गराएको भन्दै पार्टीको केन्द्रिय निर्वाचन समितिलाई पनि धन्यवाद दिए । उनले महाधिवेशनबाट निर्वाचित पार्टीका पदाधिकारी तथा केन्द्रिय सदस्यहरुलाई बधाई पनि ज्ञापन गरे ।
त्यस अवसरमा सभापति देउवाले नेपाली काँग्रेस पूर्ण प्रजातान्त्रिक पार्टी हो भन्नु कुरा पनि महाधिवेशनमा भएको निर्वाचनले पुष्टि गरि दिएको स्मरण गराए । सभापति देउवाले सिंगो मुलुकको प्रतिनिधित्व हुने गरी पार्टीलाई अघि बढाउने पनि बताए ।