१० पुस, विराटनगर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा एमालेको अवरोध चुनावसम्मै रहने चेतावनी दिएका छन् ।
पार्टी विभाजन भएदेखि एमालेका सांसदहरूले सदनमा अवरोध गर्दैआएका हुन् । शनिबार विराटनगरमा आएका ओलीले पत्रकारहरूसँग यस्तो बताएका हुन् । आफूहरूले पार्टीबाट निष्कासन गरेका मान्छेहरूलाई राखेर सरकारले बोलाएको सर्वदलीय बैठकमा पनि आफूहरू नजाने ओलीको जिकिर छ ।
कुराकानीको क्रममा अध्यक्ष ओलीले छिट्टै चुनाव गर्नुपर्ने बताए । ‘अर्ली इलेक्सन भए पनि नभए पनि इलेक्सन हुनुपर्छ,’ उनले भने, ‘इलेक्सन भएपछि धोपीपाट लगाइन्छ ।’ यस क्रममा सरकारले हालसम्म एमसीसीको बारेमा आफ्नो नीति ल्याउन नसक्नु सरकारको कमजोरी भएको ओलीको भनाइ थियो ।
‘सरकारले एमसीसीको बारेमा आफ्नो नीति बताउन सकेको छैन । व्यक्तिगत तवरले सरकारले कुरा गरिरहेको छ र गठबन्धनको सरकार भएपछि गठबन्धनको एउटा धारणा त आउनुपर्छ नि’ अध्यक्ष ओलीले भने ।
गठबन्धन दलभित्रका एमसीसीबारे पार्टीहरूको आआफ्ना छुट्टै नीति भएकोले अन्योल बनेको उनको धारणा थियो । तर एमसीसीको बारेमा पहिले सरकारको धारणा आएपछि मात्रै आफूहरूले केही बोल्ने उनले बताए ।