फोन गरेर ओलीलाई प्रचण्डको निम्ता, ओली सहभागी नहुने

फोन गरेर ओलीलाई प्रचण्डको निम्ता, ओली सहभागी नहुने

११ पुस, काठमाडौं ।
नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफै फोन गरेर पार्टीको आजदेखि सुरु हुने राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा अतिथिको रुपमा निम्ता गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको विभाजनपछि दुई नेताको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएकोमा प्रचण्डले ओलीलाई आफै फोन गरेर निम्ता दिएका हुन् । एमालेको महाधिवेशनमा प्रचण्डलाई निम्ता गरे पनि उनी सहभागी भएका थिएनन् ।

पार्टी विभाजनपछि दुई नेता पहिलोपटक नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा सँगै देखिएका थिए । प्रचण्डले फोन गरेर निम्ता गरेपछि जवाफमा अध्यक्ष ओलीले आफू झापामा भएको र कार्यक्रममा सहभागी हुन पार्टी महासचिव शंकर पोखरेललाई पठाउने बताएका थिए ।

एमालेको महाधिवेशनमा माओवादीले लीलामणि पोखरेललाई सहभागी हुन पठाएको थियो । माओवादीले यसअघि उद्घाटन सत्रमा अन्य कसैलाई नबोलाउने बताएको भए पनि अन्तिम समयमा देशका प्रमुख राजनीतिक दलहरूलाई सहभागी हुन निम्ता पठाएको छ ।

उद्घाटन सत्रमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी हुने तय भएको छ ।

आज दिउँसो १ बजेदेखि सुरु हुने भनिएको कार्यक्रम अब ३ बजेदेखि सुरु हुने भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.