११ पुस, काठमाडौं ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको सम्पत्ति छानबिनको माग गर्दै वृहत् नागरिक आन्दोलनका अगुवाहरूले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ज्ञापन पत्र बुझाएका छन् ।
आज आइतवार ललितपुरको पुल्चोकमा रहेको विभागको कार्यालय पुगेर महानिर्देशक प्रेमप्रसाद भट्टराईलाई वृहत् नागरिक आन्दोलनका अगुवा प्रा. डा. गोविन्द केसीसहितको टोलीले प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
उनीहरूले प्रधानन्यायाधीश जबराले भाइ, श्रीमती, परिवारका अन्य सदस्य एवम् नातेदार, उनी निकट न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, व्यापारी एवम् पेसेवरहरूको सहयोगमा भ्रष्टाचार गरेको आरोपसमेत लगाएका छन् ।
प्रधानन्यायाधीश जबराले विशेष अदालतको न्यायाधीश हुँदा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको र त्यो रकम पत्नी रेजी राणाको नाममा २०६५ सालमा ठमेलमा रहेको कि.नं १०९ र ११० को जग्गा किनेको आरोपसमेत लगाइएको छ ।
ज्ञापन पत्र बुझाउँदै नागरिक आन्दोलनका अगुवासमेत रहेका डा. केसीले शक्तिको आडमा जिम्मेवार पदाधिकारीको संरक्षणमा भ्रष्टाचारजन्य कार्यबाट अकूत सम्पत्ति आर्जन गरी अस्वाभाविक जीवनशैली देखाएका प्रधानन्यायाधीशको सम्पत्ति अपरादर्शी देखिएकाले छानबिनको माग गरेको बताए। उनले प्रधानन्यायाधीश जबराले भ्रष्टाचार गरेको कुरा आम सञ्चारमाध्यमहरूमा आइरहेकोले नागरिक समाज चुप लागेर बस्न नसक्ने बताए।
ज्ञापन पत्र बुझाएपछि अधिवक्ता ओमप्रकाश अर्यालले विभागले यसको निचोड दिनुपर्ने बताए। उनले प्रधानन्यायाधीश जबरामाथि लगाइएका आरोपहरू तथ्यपरक ढङ्गले र प्रचुर प्रमाणहरूसहित आइरहेकाले छानबिनको विकल्प नरहेको बताए ।
प्रधानन्यायाधीश जबराको सम्पत्ति शुद्धीकरणको माग गर्दै कानुन व्यवसायी तथा नागरिक आन्दोलनका अगुवाहरूले विभागलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्र लिँदै विभागका महानिर्देशक भट्टराईले प्रधानन्यायाधीशविरुद्धको सम्पत्ति शुद्धीकरणको प्रक्रिया अघि बढ्ने बताए ।