१२ पुस, काठमाडौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाटै समाजवाद स्थापना सम्भव भएको बताएका छन् ।
सोमबार ८औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष दाहालले नेपाली विशेषताका कारण शान्तिपूर्ण बाटोबाटै समाजवादतर्फको यात्रा सफल हुने बताएका हुन् । त्यस्तै दाहालले पार्टीको मार्गदर्शक सिद्धान्त मालेमावाद नै रहने उल्लेख गरेका छन् ।
पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवादमा जाने भएको पनि दाहालले बताएका छन् । दाहालले शान्ति प्रक्रियामा आएसँगै कुनै छलफलबिनै प्रचण्डपथ स्थगित गर्नु कमजोरी भएको बताएका छन् ।
केन्द्रीय भेला, केन्द्रीय समिति बैठक वा कुनै फोरमबाट प्रचण्डपथ स्थगित गरिनु कमजोरी भएको उनले उल्लेख गरेका हुन् । दाहालले नयाँ राजनीतिक विचार विकासका लागि प्रचण्डपथ अनुभव र सन्दर्भ सामग्री बने पनि त्यसलाई नब्युँताइने बताएका छन् ।
पार्टीभित्र कतिपय नेताले अझै पनि प्रचण्डपथ सान्दर्भिक र ब्युँताउने बताइरहँदा दाहालले प्रतिवेदनमा यस्तो उल्लेख गरेका हुन् । सोमबार बिहान साढे ११ बजेबाट सुरु भएको बन्दसत्रमा अध्यक्ष दाहालले २१औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको वैचारिक एवम् राजनीतिक दस्तावेज प्रस्तुत गरेका छन् ।