१२ पुस, विराटनगर ।
नेकपा एमालेका नेता डा. भीम रावलले अमेरिकी परियोजना एमसीसीलाई सित्तैको भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको अभिव्यक्तिमा आपत्ति जनाएका छन्।
माओवादीको आठौं महाधिवेशन उद्घाटनका क्रममा आइतवार प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर एमाले नेता रावलले विरोध जनाएका हुन्। मूल सम्झौतासँगै आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरूपयोग गर्न एमसीसीअन्तर्गत आउने रकमलाई सित्तैमा आएको भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति हो, उनले भनेका छन्, यस्तो कुरा नेपाल सार्वभौम, स्वाधीन र लामो सभ्यता भएको देश ठान्ने कसैले गर्नै सक्दैन।
उनले एमसीसी सम्झौता अरुले नपढेको भन्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई पनि समान्ती दम्भ भनेका छन्। प्रधानमन्त्री देउवाले एमसीसीसँगको सम्झौता अरूले नपढेको भन्दै सबैलाई मूर्ख ठान्ने सामन्ती दम्भ देखाउनु भएको छ, उनले भनेका छन्, सम्झौतामा कहीँ राष्ट्रघात नदेखेको र सित्तैमा आएको पैसा किन नलिने भन्नु नेपालको हित, स्वाधीनता र अधिकारमा आँच पुग्ने प्रावधानप्रति आँखा चिम्लेर बाह्य शक्तिको नाङ्गो भक्ति हो।
प्रधानमन्त्री देउवाले आइतवार माओवादीको महाधिवेशनमा एमसीसी विशुद्ध विकास अनुदान भएको व्याख्या गर्दै यो स्वीकार्दैमा राष्ट्रघात नहुने दाबी गरेका छन्।