विद्यालय प्रवेश नदिएपछि मृत्यु रोजेकी छात्राका लागि न्यायको माग

विद्यालय प्रवेश नदिएपछि मृत्यु रोजेकी छात्राका लागि न्यायको माग

१२ पुस, काठमाडौं ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विमला बोगटीको न्यायको माग गरेको छ ।

सोमवार काठमाडौंमा आयोजित विद्यालय व्यवस्थापन, प्रशासनको विद्यार्थी हिंसा, उत्पीडनबिरुद्ध कार्यक्रम गर्दै विमला बोगटीको न्यायको माग गरेको हो । पुस ५ गते ओखलढुंगा जिल्लाको चम्पादेवीमा गाउँपालिकास्थित बालज्योती मध्यामिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा बोगटीले आफूलाई विद्यालय प्रवेश गर्न नदिएपछि विष सेवन गरी आत्महत्या गरेकी थिइन ।

कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले गाउँबस्तीका विद्यार्थीहरुले पनि निर्वाध रुपमा पढ्न पाउनु पर्ने बताए । उनले विद्यार्थीले पढ्न पाउने अधिकारमा नेपाल सरकार समेत गम्भीर नबनेको आरोप लगाए ।

अध्यक्ष गजुरेलले भने, ‘हाम्रा छोरी चेलीहरुको दिनप्रतिदिन बलात्कृत भइरहेका छन् । विद्यालयबाट घर सकुशल फर्किन्छन् कि फर्किंदैनन् भन्ने चिन्ताको विषय छ । शिक्षा र स्वास्थ्यबाट हाम्रा दाजुभाई र दिदिबहिनीहरु वञ्चित हुनुपरेको छ ।

गाउँबस्तीका विद्यार्थीहरुले निर्वाध रुपमा पढ्न पाइरहेका छैनन् । तर नेपाल सरकार र सम्बन्धित निकायहरु गम्भीर बनिरहेका छैनन् । विद्यार्थीहरुको निर्वाधरुपमा पढ्न पाउने अधिकारमाथि बेवास्ता गर्छौ भने हामी देशव्यापी रुपमा सशक्त तरिकाले आन्दोलनमा उत्रिनेछौँ ।’

अध्यक्ष गजुरेलले शिक्षा र स्वास्थ्य राज्यबाट निःशुल्क र सर्वसुलभ हुनुपर्ने मागसमेत गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.