सिरहामा भोलि बेलुकासम्म निषेधाज्ञा

सिरहामा भोलि बेलुकासम्म निषेधाज्ञा

१३ पुस, सिरहा ।
जिल्ला प्रशासन कार्यालय सिरहा प्रशासनले पूर्व–पश्चिम राजमार्ग र सिरहा–चोहर्वा सडकखण्डमा दुई दिनका लागि निषेधाज्ञा जारी गरेको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टीले मंगलबार र बुधबार दुई दिन सिरहा बन्दको घोषणा गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सोमबार राति सूचना जारी गरेर पुस १३ र १४ गते बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा जारी गरेको जानकारी दिएका हुन् ।

पूर्वमा बलान खोलाबाट पश्चिममा कमला नदीसम्मको राजमार्ग क्षेत्र र चोहर्वाबाट सिरहा सडक खण्डको पीके राज इन्टरप्राइजेज (पेट्रोल पम्पसम्म) ५०० मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञाको क्षेत्र तोकिएको छ ।

निषेधाज्ञाको अवधिभर राजमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात सञ्चालन हुनेछ । तर बाहिर हिँडडुल गर्न, भेला हुन तथा राजनीतिक सभा र गतिविधि गर्न नपाइने सूचनामा उल्लेख छ । जनमत पार्टीले आफ्ना माग पूरा गर्न प्रशासनले चासो नदेखाएको भन्दै पुस १३ र १४ गते जिल्लाभर चक्काजामको आह्वान गरेको छ ।

औरही गाउँपालिकाले किसानमाथि दर्ता गरेको मुद्दा फिर्ता लिनुपर्ने, पक्राउ परेका किसानहरुलाई रिहा गर्नुपर्ने, औरही गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले गरेको भ्रष्टाचारको छानबिन गर्नुपर्ने, किसानलाई समयमा मल उपलब्ध गराउनुपर्नेलगायतका सात बुँदे माग राखेर जनमत पार्टीले सिरहा बन्द गर्दै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.