हिमपात भइरहँदा चिसो बढेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन मनाङको आग्रह

हिमपात भइरहँदा चिसो बढेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन मनाङको आग्रह

१३ पौष, मनाङ । केही दिनयता मौसमको परिवर्तन भएसँगै मनाङमा हिमपात भएको छ । हिमपात भइरहँदा चिसो बढेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मनाङले आग्रह गरेको छ ।

चिसो बढेसँगै सतर्कता अपनाउन र कुनै पनि समस्या परेमा प्रशासन कार्यालय तथा सुरक्षा निकायमा सम्पर्क गर्नुहुन स्थानीयवासीमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार जिल्लावासी धेरै जाडो छल्न पहाडी जिल्ला तथा पोखरा, काठमाण्डौ गइसकेका छन् भने भेडीगोठ कुरुवा र कर्मचारीमात्रै मनाङमा रहेका छन् । चिसो बढेसँगै जिल्लामा बसिरहेका स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी आचार्यको नेतृत्वमा सुरक्षा निकाय प्रमुख र सम्बन्धित कार्यालयका प्रमुखसहित हुम्डे एयरपोर्टको भौतिक संरचना तथा अवस्थाको निरीक्षण अनुगमन गरिएको छ । हिमपातका कारण यस संरचनाको मर्मतसम्भार तथा सदुपयोग गर्ने उपायका बारेमा तत्काल खोजी र प्रारम्भ गर्ने निष्कर्षमा पुगेको उनले बताए ।

मनाङ ङिस्याङ गाउँपालिकामा पर्यटन तथा स्थानीय जनजीवनको अवस्था, हिमपात र चिसो बढेपछिको प्रभाव एवं स्थानीयवासीको दैनिकी र प्रहरी तथा निजामती कर्मचारीको स्थितिको अवलोकन गरिएको उनले बताए । साथै पर्यटकीय पदमार्ग चामेबाट तलेखु, भ्राताङ, ढिकुरपोखरी, पिसाङ, ग्रीन ताल, सीमा प्रहरी चौकी हुम्डे, मुङ्जे, भ्राका, मनाङ र टङ्की मनाङसम्मको अनुगमन पनि गरिएको आचर्याले बताए ।

उनले भने, ’पर्यटक आउने क्रम जारी रहेको तर तिलिचो तालतर्फ जान भने पाइएन ।’ अमेरिकन तथा रसियनलगायत देशका पर्यटकले अनुभवी गाइड एवं शेर्पालाई साथमा लिएरर थोराङ्ला पासतर्फ जाने क्रम जारी रहेको र बङ्गाली पर्यटक भने यात्रा अघि नबढाइ फर्किएको पाइएको उनले बताए ।

ग्रिन लेकबाहेकका ताल एवम् छहरा तथा साना खोलाखोल्सामा बग्दै गरेको पानी पूर्णरूपमा जमेको र घाम लागेसँगै पग्लिएर बग्ने गरेको पाइएको आचार्यको भनाइ छ । मनाङवासीको जनजीवन भने सामान्य रहेको उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.