सरकारले अझै उखुको मूल्य निर्धारण गर्न सकेन, बारीमा उखु सुक्न थालेपछि तौल घट्नेमा किसानको चिन्ता

सरकारले अझै उखुको मूल्य निर्धारण गर्न सकेन, बारीमा उखु सुक्न थालेपछि तौल घट्नेमा किसानको चिन्ता

१३ पौष, काठमाडौँ । सरकारले अझै उखुको मूल्य निर्धारण गर्न सकेको छैन । मूल्य नै निर्धारण नभएका कारण किसानले उखु काट्न सकेका छैनन् । बारीमा उखु सुक्न थालेका छन् ।

उखु सुके तौल घट्ने किसानको चिन्ता छ । यसअघि किसानका प्रतिनिधि, मिल सञ्चालक र सरकारबीच पटक पटक छलफल भए पनि अहिलेसम्म मूल्य निर्धारण हुन नसकेको हो ।

उखु किसानका प्रतिनिधिले प्रतिक्विन्टल ६ सय ८० रुपैयाँ मूल्य माग गर्दै आएका छन् । तर चिनी मिल सञ्चालकले बढीमा ५ सय ८० रुपैयाँसम्म दिन सक्ने बताएका छन् ।

मूल्य निर्धारण नभए पनि पर्सिदेखि मिल सञ्चालन गर्ने चिनी उद्योगीको तयारी छ । किसान र उद्योगी दुवैलाई मान्य हुने गरी र तोकिएको मूल्य कार्यान्वयन गर्न खोज्दा केही ढिलाइ भइरहेको कृषि मन्त्रालयले जनाएको छ।

आफूहरुले किसान तथा चिनी उद्योगीसँग मूल्य निर्धारणबारे सुझाव मागेको तर अन्तर धेरै भएपछि सहमति जुटाउन नसकेको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए ।

खरिद मूल्य तोक्ने क्रममा मन्त्रालय सिफारिसको चरणमा रहेको र सरकारले निर्णय गरिसकेपछि कार्यान्वयनमा सहज हुने गरी अन्तिम तयारी भइरहेको उनको भनाइ छ ।

प्रकृयागत रुपमा कृषि मन्त्रालयबाट सिफारिस मूल्य उद्योग मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पुगेपछि निर्णय भएर कार्यान्वयनमा आउँछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.