१४ पुस, विराटनगर ।
काठमाडौंलगायत देशका अधिकांश ठाउँमा गए रातिदेखि हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशभर नै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकोले मौसम बदली भएको महाशाखाले जानकारी दिएको छ। मौसमविद् गंगा नगरकोटीका अनुसार काठमाडौंसहित देशभर वर्षा भइरहेको छ। बिहीबार बिहानसम्म वर्षा हुने सम्भावना रहेको उनले बताए।
काठमाडौंमा आज दिउँसो केहीबेर रोकिएर फेरि वर्षा हुने सम्भावना छ। पानी पर्न रोकिएर बादल हटेपछि तापक्रम यो वर्षकै न्यून हुनसक्ने उनले बताए। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको विभागको भनाइ छ।
काठमाडौंको चन्द्रागिरिमा हिमपात भएको छ। अहिले सक्रिय रहेको मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई–यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गए रातिदेखि लगातार परेको पानीका कारण जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन प्रभावित भएको छ। उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भागमा हिमपात जारी छ। हिमपातसँगै अधिकांश ठाउँको फोन सेवासमेत प्रभावित भएको छ।
बिहानै घाँस सङ्कलन गर्ने काम ठप्प भएपछि पशुचौपायलाई खुवाउने आहाराका लागि समस्या भएको स्थानीयले बताएका छन्। चिसो अत्यधिक बढेपछि पठनपाठन प्रभावित बनेको छ। नियमित पानी परेपछि यातायात सेवासमेत प्रभावित भएको छ।
हिमपातले भीमदत्त राजमार्ग अवरुद्ध
डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाका उच्च भेगमा मङ्गलबार रातिदेखि हिमपात सुरु भएको छ। हिमपातका कारण भीमदत्त राजमार्ग र जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध बनेका छन्।
सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको हगुल्टे र साहुखर्क क्षेत्रमा रातिदेखि हिमपात भएपछि यातायात अवरुद्ध छ। हिउँ परेपछि तराई–पहाडका जिल्लाका लागि गुडेका सवारीसउाधन राजमार्गमै रोकिएका छन्। यात्रु बाटोमै अलपत्र परेको बताइएको छ।
मङ्गलबार बेलुकादेखि पानी पर्न सुरु भएसँगै रातिदेखि हिमपात भएको हो। भीमदत्त राजमार्गको साहुखर्क र हगुल्टेमा आज बिहानदेखि सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।
डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलाका उच्च भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको छ। चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।
आज दिउँसो तथा राति पनि वर्षा र हिमपात जारी रहने सम्भावना रहेकाले होसियारी अपनाउन मौसमविद्ले आम नगारिकलाई आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।
जसमा भनिएको छ, देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाईरयातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।