कारागारबाट कैदी भागेको प्रकरणः जेलर र सुरक्षा प्रमुखसहित ९ जना पक्राउ

कारागारबाट कैदी भागेको प्रकरणः जेलर र सुरक्षा प्रमुखसहित ९ जना पक्राउ

१४ पौष, दाङ । दाङको घोराही कारागारबाट कैदी भागेको प्रकरणमा जेलर र सुरक्षा प्रमुखसहित ९ जना पक्राउ परेका छन् । अघिल्लो बुधबार कारागारका नाइके यामराम परियार भागेपछि प्रहरीले जेलर र सुरक्षाकर्मी सहित ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, कैदी परियारसँग होटलमा गएका महिलाहरु विपासा चौधरी, समी चौधरी, परियारले बजारमा भेट गरेका सौरभ खनाल, भानुभक्त पाण्डे र थकाली होटलका सञ्चालक रहेका छन् ।

जेलरसहित पक्राउ परेका प्रहरीहरु निलम्बनमा परेका छन् । उनिहरुलाई थप अनुसन्धानका लागि दाङ जिल्ला अदालतबाट म्याद थप समेत गरेर हिरासतमा राखिएको छ ।

छालाको उपचारका लागि भन्दै कारागारबाट निस्किएका प्रहरी जवान धनबहादुर चौधरी र कैदी परियार अस्पताल नगइ होटलमा पुगेका थिए । थकाली होटलमा दुई जना महिलासहित पुगेका उनीहरुमध्ये परियारले प्रहरी जवान चौधरीलाई कोठामा थुनेर भागेका हुन् ।

उनको अहिलेसम्म कुनै अत्तोपत्तो छैन् । कारागार प्रशासन र सुरक्षा संयन्त्रको चरम लापर्वाहीका कारण कैदी भागेको भन्दै घटनामा संलग्न देखिएका सबैलाई अनुसन्धानको दायरामा ल्याइएको प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

यसअघि पक्राउ परेका कारागारका कार्यालय सहयोगी अर्जुन चौधरीलाई भने सम्पर्कमा आउने सर्तमा रिहा गरिएको छ ।

जेलर युवराज परियार पुस ६ गतेदेखि १३ गते सम्म बिदा बसेको समयमा पनि ८ गते कार्यालय आएर कैदी परियारलाई अस्पताल जान अनुमति दिएको खुलेको छ । जसका कारण प्रहरीले मिलेमतो मै कैदी भगाएको निष्कर्ष सहित अनुसन्धानलाई अघि बढाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.