१७ पुस, विराटनगर ।
आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ ।
नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाई छ ।
नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।
विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।
टोपी दिवसले नेपाली र नेपाली मुलका नागरिक भएका सबै देशमा नेपाली पनको निरन्तर खोजी तथा त्यसको संरक्षण र प्रर्वद्धन गर्ने विश्वस गरिएको छ । यो दिन नेपाल र नेपालबाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन् ।
यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ ।