१९ पुस, विराटनगर ।
निलम्बित सांसद रेशम चौधरीको नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि बाजागाजासहित नेताहरू निर्वाचन आयोगमा पुगेका छन् ।
कैलाली टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका चौधरीको समर्थित नेताहरू ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि आयोगको कार्यालय पुगेका हुन् । चौधरीकी श्रीमति श्रेष्ठ रञ्जिताको अध्यक्षतामा उक्त पार्टी दर्ता गर्न लागिएको हो ।
नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेका चौधरीका समर्थकसँगै उनकी श्रीमती पनि छिन् । भृकुटीमण्डपमा भेला भएर उनीहरू बाजागाजासहित आयोग पुगेका हुन् । पछिल्ला केही दिनयता चौधरीको रिहाइको माग राखेर काठमाडौंमा प्रदर्शन भइरहेको छ ।
कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी टीकापुर घटनामा दोषी ठहर गरेपछि उनी अहिले पनि कैद भुक्तानका लागि कारगारमा छन् । उनी जेलमा रहँदा नै वारिसबाट उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
अहिले पनि जेलमा रहँदा नै उनको पार्टी दर्ता गर्न लागिएको हो ।