पृथ्वी जयन्तीलाई ‘नेपाल दिवस’ का रूपमा मनाउन विवेकशील साझाको माग

पृथ्वी जयन्तीलाई ‘नेपाल दिवस’ का रूपमा मनाउन विवेकशील साझाको माग

२० पुस, विराटनगर ।
विवेकशील साझा पार्टीले पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई ‘नेपाल दिवस’ का रुपमा मनाउनु पर्ने माग गरेको छ ।

पार्टीले मंगलबार विज्ञप्ति जारी गरेर पुस २७ गतेलाई नेपाल दिवसका रुपमा मनाउन सरकारसँग माग गरेको हो । ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रूपमा मनाइयोस् ।

संसारका अधिकांश देशहरूमा विशिष्ट महत्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने गर्दछ, जुन स्थायी हुन्छ। नेपालका हकमा हाम्रो निश्चित राष्ट्रिय दिवस छैन। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नै ‘नेपाल दिवस’ का लागि सबैभन्दा उपयुक्त दिन हुनसक्छ भन्ने हाम्रो धारणा हो’, विवेकशील साझाको विज्ञप्तिमा उल्लेख छ ।

संसारका कुनै पनि एकीकरणकर्ता विवादरहित नहुने भन्दै विवेकशील साझाले विवादलाई लिएर पृथ्वीनारायण शाहको अवमूल्यन गर्नु उपयुक्त नहुने जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘उनको दूरदर्शिता र दिव्य उपदेश शान्त, स्वाभिमानपूर्ण, सार्वभौमसत्ता सम्पन्न र संवृद्ध नेपाल निर्माणका लागि आज पनि उत्तिकै सान्दर्भिक छ।’

राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिइनु पर्ने माग पनि रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले गरेको छ । ‘सार्वजनिक बिदाका लागि हामीले विगतमा गरेको मागलाई पुनः दोहोर्‍याउँछौँ ।

अनावश्यक रूपमा अनेकौँ बिदाहरू दिएर राष्ट्रिय एकता दिवसमा दिइने सार्वजनिक बिदा कटौती गर्नु अत्यन्तै खेदजनक विषय हो’, विज्ञप्तिमा भनिएको छ ।

यस्तै नेपाली रुपैयाँमा पृथ्वीनारायण शाहको तस्बिर अङ्कित गर्न र हरेक सरकारी कार्यालयमा ससम्मान उनको तस्बिर राख्न पनि माग गरेको छ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर पारेर विवेकशील साझा पार्टीले पुस २७ गतेदेखि ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने तयारी गरेको छ । सो यात्रा माघ १६ गते शहीद दिवसका दिन अन्त्य हुने जनाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.