२० पुस, विराटनगर ।
नेपाली काँग्रेसका प्रदेश सभापतिहरूले पार्टी विधान संशोधन गरेर अधिकार बढाउन माग गरेका छन् ।
सोमबार सात वटै प्रदेशका सभापतिहरूले केन्द्रीय सभापति शेरबहादुर देउवासमक्ष पत्र बुझाउँदै आफूहरूलाई अधिकार बढाउन माग राखेका हुन् । केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुने वैधानिक व्यवस्था र प्रदेश सांसदको लेबी सम्बन्धी प्रदेश कार्यसमितिको खातामा बुझाउने प्रक्रिया मिलाइदिन प्रदेश सभापतिहरूको माग छ । उक्त माग सोमबारको केन्द्रीय कार्यसमिति बैठक समेत राखिएको थियो ।
सातै वटै प्रदेशका सभापतिको प्रतिनिधित्व गरी लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रीय समितिमा माग राखेका थिए । काँग्रेसमा पहिलो पटक प्रदेश संरचनामा गएकाले सभापतिहरू केही अलमलमा देखिएका छन् ।
उनका अनुसार अहिलेसम्म प्रदेश सांसदको लेबी पार्टी केन्द्रको खातामै जम्मा गर्ने गरिएको छ । केन्द्रसँग समन्वयका लागि पनि आफूहरूले केन्द्रीय समितिमा भाग लिन पाउने वैधानिक व्यवस्थाको माग गरेको पुनको भनाइ छ ।
पार्टी विधानले प्रदेश सभापतिलाई प्रदेशभित्र १५ वटा अधिकार दिएको छ भने प्रदेश समितिलाई ३ वटा काम, कर्तव्य र अधिकार तोकेको छ । तर केन्द्रीय समिति बैठकको पदेन सदस्य हुने व्यवस्था भने छैन ।
अहिले केन्द्रीय समितिले निर्णय लिएर प्रदेश सभापतिलाई केन्द्रीय समितिको पदेन सदस्य राख्नुपर्ने माग राखेको सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले बताए । उनले भने, ‘अहिले केन्द्रीय समितिले प्रदेश सभापतिलाई केन्द्रीय कार्यसमितिको पदेन सदस्यको व्यवस्था गर्नुपर्छ । पछि विधानमै त्यो व्यवस्था गर्न सकिन्छ ।’
यस्तै बलायरले प्रदेश सभापतिको वरियता पनि टुङ्ग्याउन भनेको बताए । उनले भने, ‘हामी प्रदेश सभापति ७ जना मात्र छौँ । हाम्रो वरियता केन्द्रीय सदस्यको भन्दा अगाडि हुनुपर्छ भन्ने हाम्रो माग हो । पार्टीमा १६८ जना केन्द्रीय सदस्य छन् । उनीहरूभन्दा हाम्रो वरियता तल हुने कुरा त भएन नि ’
प्रदेश सभापतिलाई केन्द्रीय कार्यसमितिको पदेन सदस्य बनाउने र वरियता रोक्ने विषयमा सभापति देउवा सकारात्मक रहेको बलायरको भनाइ छ । प्रदेश सभापतिको मागबारे छलफल नै नभएको उपसभापति पूर्णबहादुर खड्काले बताए ।
उनले भने, ‘हिजो प्रदेश सभापतिहरूले सभापतिलाई निवेदन बुझाउनु भएको छ । सभापतिले त्यो निवेदन हेर्नुहुन्छ । त्यसपछि पदाधिकारीसँग छलफल गर्नुहोला । त्यसको प्रक्रियाबारे पनि छलफल होला ।’ सभापति देउवाले यसबारे धारणा सार्वजनिक नगरी आफूले अहिले नै कुनै प्रतिक्रिया नदिने खड्काले बताए ।