कोइराला समूहको बैठक आज पनि

कोइराला समूहको बैठक आज पनि

२१ पुस, काठमाडौं।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आज (बुधबार) पनि आफूपक्षीय नेताहरूको बैठक राख्दै छन्।

पार्टीको १४औं महाधिवेशनमा सभापति पदमा पराजित नेता कोइरालाले महाधिवेशनको समीक्षा गर्न आज दिउँसो २ बजे आफ्नो समूहको बैठक राख्ने भएका हुन्। केन्द्रीय सदस्य अर्जुननरसिंह केसीका अनुसार बैठकमा १४औं महाधिवेशनमा कोइराला समूहबाट उम्मेदवार बनेका सबै नेताहरूलाई बोलाइएको छ। ​

यसअघि मंगलबार पनि कोइराला समूहको बैठक बसेको थियो। बैठकले पार्टीका सभापति शेरबहादुर देउवा एकलौटी रूपमा अगाडि बढेको र आफूहरूलाई किनारा लगाउन खोजिएको निष्कर्ष निकालेको थियो।

हिजो मंगलबार बत्तीसपुतलीको अनुपम फुडल्यान्डमा बसेको बैठकपछि केन्द्रीय सदस्य केसीले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्दा अपनाइएको विधिप्रति आफूहरू सशंकित भएको बताएका थिए।

‘राष्ट्रिय सभा सदस्यका सम्बन्धमा अगाडि छलफल हुनुपर्ने हो, भएन,’ केसीले भने, ‘एकपक्षीय रुपमा जान लागेकोमा सशंकित छौं।’ उनले आफूहरु सहमतिका साथ अघि बढ्न तयार भएको जिकिर गर्दै सहमतिका नाममा आत्मसमर्पण भने नगर्ने पनि बताए।

‘अहिले पनि पार्टीको अघि आउन लागेका स्थानीय, प्रदेश र संघीय निर्वाचन, विभिन्न चुनौती सामना गर्नका लागि सहमति पूर्ण यात्रामा अघि बढ्न चाहन्छौ,’ केसीले भने, ‘सहमति भनेको आत्मसमर्पण होइन।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.