२१ पुस, काठमाडौं ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको कृषि, जलविद्युत र पर्यटन क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन् ।
पूर्वराष्ट्रपति यादवले नेपालको भूबनावट नै कृषि, जलविद्युत र पर्यटन क्षेत्रको विकासका लागि अनुकूल रहेको उल्लेख गर्दै सोही क्षेत्रमा लगानी गरेर सहज ढंगले प्रतिफल लिन गैर आवासीय नेपालीहरुलाई अनुरोध गरेका हुन् ।
बुधबार आइडिया फर नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालको स्रोतआधार अनुसारको क्षेत्रमा लगानी गर्दा उपयुक्त हुने बताए ।
प्रकृतिमैत्री क्षेत्रमा लगानी गरे रोजगार सृजना हुन्छ
पूर्व राष्ट्रपति यादवले नेपालको प्रकृतिमैत्री क्षेत्रमा लगानी गरेर नेपालीहरुलाई स्वदेशमै रोजगार बनाउन सहयोग गरिरहेको भन्दै आइडिया फर नेपालको पनि प्रशंसा गरे । पूर्व राष्ट्रपटि डा. यादवले भने,‘ नेपाल सुन्दर देश छ ।
तपाईहरुले गरिरहेको काम सह्रानीय छ । तपाईहरुले सारा नेपालीहरुलाई जोडेर, गैह्रआवासीय नेपालीहरुलाई जोडेर आफ्नो ज्ञान, सीप, पूँजि कसरी नेपालमा आएर केही गरौँ भनेर जुन पवित्र भावनाले काम गर्नुभएको छ । त्यो सह्रानीय छ ।
नेपालमा लगानी गर्न आउनुहुन्छ भने नेपालको भूगोल, भू–बनावट र यहाँको प्रकृतिमैत्री काम तपाईहरुले के छ भनेर चिन्ता गर्नुहोस् । प्रकृतिमैत्री कामहरुमा लगानी गरेर पैसा आर्जन गर्नुहोस् ।
तर यहाँ कुन काम लगाउने, त्यो हाम्रो प्रकृतिमैत्री र हाम्रो सोर्स बेस हाम्रो एग्रिकल्चर, हाइड्रो पावर, टुरिजम यस्ता कुरामा धेरै सम्भावना छ ।’ त्यस अवसरमा पूर्वराष्ट्रपति यादवले प्रकृतिमैत्री क्षेत्रमा लगानी गर्दा वातावरणमा समेत प्रतिकूल असर नपर्ने बताए ।