विनोद चौधरीको कांग्रेस केन्द्रीय सदस्य पद खारेजीको माग गर्दै उजुरी

विनोद चौधरीको कांग्रेस केन्द्रीय सदस्य पद खारेजीको माग गर्दै उजुरी

२२ पुस, काठमाडौं ।
कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

कांग्रेसको विधानविपरीत चौधरी केन्द्रीय सदस्य बनेको भन्दै सिरहा क्षेत्र ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले बुधबार आयोगमा उजुरी दिएका हुन् । यादवले चौधरीको अवैधानिक केन्द्रीय सदस्यको पद खारेज गरी आफ्नो नाम केन्द्रीय सदस्यमा समावेश गर्न पनि माग गरेका छन् ।

कांग्रेसको १४ औं महाधिवेशनबाट चौधरी मधेसी (खुला)तर्फ निर्वाचित भएका हुन् । यादवले कांग्रेसको विधानअनुसार १० वर्ष निरन्तर पार्टीको क्रियाशील सदस्य भएमात्र केन्द्रीय सदस्य बन्न पाइने भन्दै चौधरी २०७४ सालमा कांग्रेस प्रवेश गरेको जनाएका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ को परिच्छेद ७ दफा २१(८) मा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधिबाट ४ महिलासहित ९ जना मधेसी केन्द्रीय सदस्य रहने व्यवस्था रहेको छ, यादवको उजुरीमा उल्लेख छ, मधेसी खुल्ला पदमा निर्वाचित भएको भनिएको विनोद चौधरी नेपाली कांग्रेसमा निरन्तर १० वर्ष क्रियाशील सदस्य नभएको निज २०७४ सालमा मात्र नेपाली कांग्रेसमा प्रवेश गरेकोले निजको केन्द्रीय सदस्यमा उम्मेदवार नै हुन नपाउने स्पष्टै छ ।

यादवले उजुरी पत्रसँगै विनोद चौधरी विगतमा एमालेबाट सभासद् बनेको प्रमाणसमेत पेस गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.