२२ पुस, एजेन्सी ।
अस्ट्रेलियाले विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोविचको भिसा रद्द गरेको छ ।
अस्ट्रेलियन ओपन टेनिसका लागि मेलबर्न पुगेका जोकोविचको भिसा रद्द भएको हो । उनीसँग अस्ट्रेलिया प्रवेशका लागि भिसा थियो, तर मेलबर्न विमानस्थलमा उनलाई केही घण्टा रोकियो ।
त्यसपछि उनले अस्ट्रेलिया प्रवेशका लागि आवश्यक नियमहरु पूरा नगरेको भन्दै भिसा रद्द गरी डिपोर्ट गर्ने घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
कोरोना भाइरसविरुद्धको खोप लगाए–नलगाएको सार्वजनिक नगरेका जोकोविचले अस्ट्रेलियन ओपन टेनिस खेल्नकै लागि एक दिन पहिले खोल नलगाए पनि हुने गरी छुट दिइएको थियो ।
तर अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोही पनि व्यक्ति नियम भन्दा माथि नरहेको बताएका छन् । जोकोविचले खोप लगाउनु पर्ने नियमलाई चुनौति दिएका हुन् ।
जोकोविचको टिमले खोप नलाएको अवस्थामा अस्ट्रेलिया प्रवेशका लागि दिइने छुटसहितको भिसाका लागि आग्रह नगरेको अधिकारीहरुले थाहा पाएका हुन् ।
जोकोविचले अहिलेसम्म आफूले खोप लगाए–नलगाएकोबारे बताएका छैनन्, तर गएको वर्ष उनले आफू खोपको विपक्षमा रहेको उल्लेख गरेका थिए ।
वकिलहरुले भिसा रद्द गर्ने निर्णय उल्ट्याउने प्रयास गरिरहँदा जोकोविच अस्ट्रेलियामै रहने वा नरहने भन्ने खुलेको छैन । प्रधानमन्त्री मोरिसनले ट्वीट गरेका छन्, ‘नियम भनेको नियम हो, विशेष गरी जब हाम्रो सीमासँग जोडिएको हुन्छ । कोही पनि यी कानुन भन्दा माथि हुँदैन ।’