संसद नचल्दा जनताका पक्षमा कानुन बन्न पाएनः ऊर्जामन्त्री भुसाल

संसद नचल्दा जनताका पक्षमा कानुन बन्न पाएनः ऊर्जामन्त्री भुसाल

२४ पुस, काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले नेकपा एमालेले प्रतिनिधिसभा अवरुद्ध पार्दा जनताका पक्षमा कानुन ऐन–नियम बनाउन नसकिएको बताएकी छन्।

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको नवौँ गाउँसभालाई आज सम्बोधन गर्दै उनले भनिन्, ‘विघटित प्रतिनिधिसभा पुनःस्थापित भए पनि बन्धक बनाउनु संविधान कार्यान्वयनलाई बन्धक बनाउनु हो।’

‘जनताको सार्वभौम थलो प्रतिनिधिसभा हो, त्यहीबाट जनताका लागि कानुनरनियम बन्ने हो, आज त्यो ठप्प छ, त्यसैले प्रतिगमनको खतरा टरिसकेको छैन, यसप्रति सबै सचेत हुनुपर्छ’, मन्त्री भुसालले भनिन्।

उनले संविधानले निर्दिष्ट गरेको सामाजिक न्यायमा आधारित समाजवाद निर्माणमा लागेको पनि जानकारी दिइन्। उनले खतरा टरिनसकेकाले प्रतिक्रान्तिको खतरा रहुञ्जेलसम्म गठबन्धन रहने र चुनावमात्रै होइन चुनावपछि पनि निरन्तरता दिने सोचमा रहेको जानकारी दिइन्।

उनले प्रतिनिधिसभा चलेको भए सङ्घीय निजामती ऐन, प्रदेश निजामती ऐन, स्थानीय सेवा ऐन बनिसक्ने जानकारी गराउँदै स्पष्ट नीति नियमको अभावमा प्रदेश र स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको दावी गरिन्। संसद नचल्दा कानुन बन्न नपाएको र कानुन नबन्दा अधिकार बाँडफाँटको कुरासमेत अड्किएको उनले बताइन्।

सुरुमा पार्टीले उठाएको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिताको एजेण्डा राष्ट्रकै एजेण्डा बनेको स्मरण गर्दै उनले आर्थिक, सामाजिक रुपान्तरणतर्फ मुलुक अघि बढिसकेको पनि बताइन्।

मन्त्री भुसालले २० युनिटभन्दा तल विद्युत खपत गर्ने साढे २६ लाख घरका एक करोड ३० लाख जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराएको पनि बताइन्। अन्यको हकमा शुल्कसमेत घटाएको जानकारी दिँदै उनले सिंचाइको नीति अघि बढाएर ग्रामीण क्षेत्रका किसानको जीवनस्तर माथि उठाउने प्रयास थालिएको बताइन्। (रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.